दार्चुला। आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले सोमबार स्कटल्याण्डविरुद्ध खेल्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह ३ः४५ देखि सुरु हुनेछ ।
नेपाली टोलीका लागि यो खेल केवल पुनरागमन मात्र होइन, तालिकामा सुधार गर्ने अवसर पनि हो । तीन सिरिजबाट जम्मा ६ अंक जोडेको नेपाल अहिले आठौँ स्थानमा रहेको छ ।
यसपटक चारवटै खेल जित्न सके नेपाल छैटौँ स्थानमा उक्लन सक्छ । तर, चुनौती भने सहज छैन । सिरिजअघिका दुई अभ्यास खेलको नतिजा हेर्दा नेपाली टोली अझै सानदार लयमा फर्किएको देखिँदैन ।
एकदिवसीय अन्तर्राष्ट्रियमा स्कटल्याण्डविरुद्ध नेपालको प्रदर्शन मिश्रित तर सकारात्मक रहेको छ । अहिलेसम्म यी दुई टिमबीच आठ ओडिआई खेल भएको छ, जसमा नेपालले चारमा जित र तीन खेलमा पराजय बेहोरेको छ ।
नेपाल र स्कटल्याण्डबीचको एक खेल भने वर्षाले प्रभावित भएको छ । पछिल्लोपटक यी दुई टिम २९ अक्टोबर २०२४ मा आमनेसामने भएका थिए । त्यस खेलमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हरायो । नेपाल सोमबार पनि सोही नतिजा दोहोर्याउने लक्ष्यमा छ ।
यद्यपि स्कटल्याण्डलाई उसकै घरेलु मैदानमा हराउन नेपाललाई सहज भने हुने देखिँदैन । डिफेन्डिङ च्याम्पियन स्कटल्याण्ड हाल लिग–२ तालिकाको चौथो स्थानमा छ । उसले १६ खेलमा ९ मा जित, पाँचमा हार तथा दुई खेलमा अंक बाँडेको छ । अब स्कटल्याण्ड घरेलु मैदानको फाइदा उठाउँदै तालिकाको शीर्ष स्थानमा पुग्ने योजनामा छ । ऊ नेपाललाई हराउँदै घरेलु दबाबलाई अवसरमा बदल्न खोज्नेछ ।
सोमबार स्कटल्याण्डविरुद्धको खेलमा नेपाल उत्कृष्ट समिकरणसहित मैदान उत्रने तयारीमा छ । प्लेइङ–११ छनोटमा अनुभव र युवा जोशको सन्तुलन मिलाउने रणनीति अपनाइनेछ । ओपनिङ जोडीका रूपमा कुशल भुर्तेल र आसिफ शेखलाई जिम्मेवारी दिइने सम्भावना बलियो देखिन्छ । पछिल्लो समय ठूलो साझेदारी बनाउन चुके पनि फेरि एकपटक उनीहरूले नै सो जिम्मेवारी पाउने सम्भावना छ ।
यस्तै, तेस्रो स्थानमा कप्तान रोहितकुमार पौडेल आफैँ आउनेछन्, उनी हाल ठीकठाक लयमा छन् । चौथो स्थानमा भरोसायोग्य ब्याटर भीम सार्की हुनेछन्, जो कठिन परिस्थितिमा संयमित खेल प्रस्तुत गर्न खप्पिस मानिन्छन् ।
पाँचौँ स्थानमा उपकप्तान दीपेन्द्र सिंह ऐरीको उपस्थिति सुनिश्चितजस्तै छ । उनी ब्याटिङ, बलिङ र फिल्डिङमा योगदान दिन सक्ने ‘प्याकेज’ खेलाडी हुन् । छैटौँ स्थानमा युवा अलराउन्डर गुल्शनकुमार झा खेल्ने सम्भावना छ, जसले अभ्यास खेलमा आक्रामक अर्धशतकीय पारी खेलेर टिम व्यवस्थापनको विश्वास जितेका थिए ।
सातौँ नम्बरमा आरिफ शेख रहन सक्छन्, जो आवश्यकताअनुसार आक्रामक वा रक्षात्मक खेल देखाउन सक्ने क्षमतायुक्त ब्याटर हुन् । बलिङतर्फ आठौँ र नवौँ स्थानका लागि सोमपाल कामी र करण केसीको नाम अगाडि छ ।
तीव्र गतिका बलर मात्र होइन, उनीहरू संकटको बेलामा तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न पनि सक्षम छन् । स्पिन बलरको भूमिकामा सन्दीप लामिछाने अनिवार्य नाम हुन् ।
उनको अनुभव र विकेट लिने क्षमता नेपाली टिमका लागि सधैँ निर्णायक साबित भएको छ । अन्तिम स्थानका लागि ललितनारायण राजवंशी वा रिजन ढकालमध्ये एकजना छनोट हुन सक्छन्, मैदानको अवस्था हेरेर कुन बलर प्रभावकारी हुन सक्छन् भन्ने आधारमा खेलाडी छनोट हुने देखिन्छ ।





प्रतिक्रिया