दार्चुला । अपि हाइड्रोपावर लिमिटेडको सहायक कम्पनी दार्चुला हाइड्रोपावर लिमिटेडले निर्माण गर्ने २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत अयोजनालाई लगानी जुटेको छ।
नेपाल बैंकको अगुवाईमा बिहिवार (हिजो) वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको हो । आयोजनामा नेपाल बैंक र नबिल बैंकले लगानी गर्ने भएका हुन्। यी दुई बैंकले आयोजनामा ७५ प्रतिशत ऋण लगानी गर्ने भएका छन् । जसमा नेपाल बैंकले २२४.५ करोड लगानी गर्ने छ भने नबिल बैंकले २०० करोड लगानी गर्ने छ । दुई बैंकले ४२४.५ करोड ऋण लगानी गर्ने भएका हुन् ।
सो आयोजना निर्माणको लागि आवश्यक स्वपूँजी १ अर्ब ४२ करोड ५२ लाखको ५१.५८२ प्रतिशतले हुने रकम ७३ करोड रुपैयाँ अपि पावर कम्पनी लिमिटेडले दार्चुला पावर लिमिटेडमा लगानी गरेको छ। आयोजनाको कुल लागत ५६६ करोड रहेको छ । यस आयोजनाबाट वार्षिक १८५.६२ मेघावाट प्रतिघण्टा विद्युत् उत्पादन हुने छ । यस जलविद्युत् आयोजनाको ड्याम मार्माको लाम्बगर र विद्युत् गृह मार्माकै शेरीमा रहने छ । आयोजनाबाट उत्पादित बिजुली नौ किलोमिटर तल रहेको शैल्यशिखरको बलाच सबस्टेसनमा जोडिनेछ ।
अपि पावरले अपर चमेलिया निर्धारित समयभन्दा पहिल्यै सम्पन्न गरेको थियो। यो आयोजना पनि निर्धारित समयभन्दा अगावै सम्पन्न गर्ने कम्पनीले जनाएको छ। गत वर्ष निर्माण सम्पन्न भएको अपर चमेलिया जलविद्युत् आयोजनाको विद्युतगृहभन्दा आधा किलोमिटर तल मध्यचमेलियाको बाँध बन्ने बताइएको छ ।





प्रतिक्रिया