कालापानी क्षेत्रमा भारतले सुरक्षागस्ती बढाइरहेका बेला नेपालले पनि सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापनाको तयारी थालेको छ ।

नेपालले दार्चुला जिल्लाको ब्याँस गाउँपालिका–१, स्थित तल्लोकौवामा बीओपी स्थापना गर्न लागेको हो । तल्लोकौवामा बीओपी राख्नका लागि ४८६ कित्ता नम्बरको २० रोपनी जग्गा माग्ने निर्णय भएको ब्याँस–१ का वडाध्यक्ष अशोक बोहरा ब्याँसीले जानकारी दिनुभयाे ।

कतिपयले माथिल्लो कौवामा राख्न माग गरे पनि सुरक्षाकर्मी बाह्रै महिना बस्न सकिने हुनाले तल्लोकौवा रोजिएको अध्यक्ष बोहराले बताउनुभयाे ।

यो स्थान गत वैशाखमा बीओपी स्थापना भएको छाङरुभन्दा करिब सात किलोमिटर पश्चिममा पर्छ । तल्लो कौवामा करिब तीन सय रोपनीको चौर रहेको स्थानीयवासी बताउँछन् । स्थानीयले सुरुदेखि नै कौवामै बीओपी राख्नुपर्ने माग गर्दै आएका थिए ।

‍दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भने बीओपी राख्ने जग्गाको विषयमा अन्तिम निर्णय हुन बाँकी रहेको बताउनुभयाे । गाउँपालिका, नापी र मालपोत कार्यालयलाई उपर्युक्त स्थान पहिचान गर्न जिम्मा दिइएको उहाँले जानकारी दिनुभयाे ।

भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका क्षेत्र समेटेर नेपालले प्रशासनिक तथा राजनीतिक नक्सा सार्वजनिक गरेपछि भारतले त्यसक्षेत्रमा सुरक्षागस्ती बढाएको देखिन्छ । देखिने गरी नै स्थल तथा हवाई गस्ती बढेको स्थानीयहरू बताउँछन् ।

भारतले २ नोभेम्बर २०१९ मा नेपाली भूमिसमेत आफ्नोतर्फ पारेर राजनीतिक नक्सा जारी गरेपछि नेपालले कूटनीतिक संवादमार्फत समस्याको समाधान खोजेको थियो । नेपालको प्रस्तावलाई ठाडै अस्वीकार नगरे पनि भारत वार्ताका लागि तयार भएको थिएन ।

गत वैशाखमा भारतले नेपाली भूभाग हुँदै कैलाश मानसरोवर जाने सडक उद्घाटन गर्‍यो । त्यसपछि नेपालले छाङरुमा बीओपी स्थापना गर्‍यो । भलै त्यहाँ त्यसअघि पनि नेपाल प्रहरीको चौकी थियो ।

भारतले सुरक्षा गस्ती बढाएपछि आफूहरूले लगातार संघीय सरकारलाई बीओपी स्थापनाका लागि दबाव दिइरहेको स्थानीय जनप्रतिनिधिहरू बताउँछन् । प्रजिअ पोखरेल सीमा विवादपछि नेपालले पनि आफ्नो क्षेत्रमा सुरक्षाकर्मी बढाएको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘कसैको विरोधमा नभई हाम्रो सीमाना रक्षाका लागि सुरक्षाकर्मी खटेका छन् ।

’तम्बाकु भीरको पीरगत सोमबार ब्याँस–२, घाँटीबगर क्षेत्रमा नेपाली सेनाले बनाएको घोडेटोबाट सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको उपस्थितिमा स्थानीयलाई हस्तान्तरण गरियो ।

यो बाटो नबन्दा ब्याँसीबासीले भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । नोवेल कोरोना भाइरस (कोभिड–१९) र कालापानी क्षेत्रको सीमा विवादलाई कारण बताउँदै भारतले नेपालीहरूलाई धार्चुला, गर्ब्याङ हुँदै छाङरु–तिङ्कर जाने बाटो प्रयोगमा रोक लगाएको थियो ।

तम्बाकु क्षेत्रमा आएको पहिरोका कारण अझै पनि नेपालीहरुलाई हिँड्नका लागि सहज भइनसकेको स्थानीय बताउँछन् । अध्यक्ष बोहराले भन्नुभयाे, ‘सेनाले धेरै दुःख गरेर बाटो बनाएको छ, तर तम्बाकु भीर क्षेत्रको बाटो अझै हिँड्नलायक छैन ।’प्रजिअ पोखरेलले तम्बाकु क्षेत्रको बाटो मर्मतका लागि पनि सेनालाई आग्रह गरिएको बताउनुभयाे । ‍-अनलाइनखबरबाट

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?