दार्चुला । सुदूरपश्चिम प्रदेशको बजेटमा एक हजार रुपैयाँका ८५ योजना समावेश गरिएका छन् । जसको स्रोत आन्तरिक कायम गरिएको छ । प्रदेश सरकारको वार्षिक कार्यक्रम पुस्तिकामा कालोपत्रे सडक, कल्भर्ट, सिँचाइलगायतका योजनामा एक हजारदेखि ६ हजार रुपैयाँसम्म पनि बजेट विनियोजन गरिएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका निकायमा एक हजारदेखि ६ हजार रुपैयाँ बजेट विनियोजन गरिएका पूर्वाधार निर्माणका योजनाको संख्या एक सय १३ छ । प्रदेश गौरवका सडक आयोजनामा समेत हजार रुपैयाँ बजेट विनयोजन गरिएको छ ।
कैलालीमा प्रदेश गौरवको भजनी–छोटीभन्सार–खिमडी–ठूलीगाड सडक योजनामा एक हजार रुपैयाँ विनियोजन गरिएको छ । पूर्वाधार विकास कार्यालय कैलालीका अनुसार ६० किलोमिटर सडकको साढे तीन किलोमिटर मात्र कालोपत्रे सकिएको छ । थप सडक निर्माणको ठेक्का लागेको छैन । कञ्चनपुरमा प्रदेश गौरवको दोमिल्ला–नाईल सडकको कलुवापुर–चितौरा खण्डका लागि एक हजार रुपैयाँ विनियोजन गरिएको छ ।
कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६, स्थित रानीवन–धैलानालामा डिपिआरसहित पक्की पुल निर्माण, लम्कीचुहा नगरपालिकाको सुतैयादेखि तिघरी जोड्ने नालामा पुल निर्माण तथा बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ६, मा सिँचाइ लिफ्टिङ ट्यांकी निर्माणको योजनामा एक÷एक हजार रुपैयाँ विनियोजन गरिएको छ ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ स्थित मटेला सिँचाइ योजना, अछामको मिर्केगडा सिँचाइ योजनामा एक÷एक हजार बजेट छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३, ४ र ८ मा सडक कालोपत्रेका योजनामा तीन÷तीन हजार विनियोजन गरिएको छ ।
सरकारले यसरी एक हजार विनियोजन गरेर योजना समावेश गर्नुको कारण भने अर्धवार्षिक समीक्षाका क्रममा रकमान्तर गरेर बजेट बढाउनका लागि हो ।
भौतिक मन्त्रालयका सचिव प्रेमदत्त भट्टले बजेटको स्रोतको व्यवस्थापन नहुँदै सिस्टममा इन्ट्री गरेका योजना पछि हटाउन नपाउँदा हजारका योजना बजेटमा परेको जिकिर गरेका छन् ।
आगामी आर्थिक वर्षमा सबैभन्दा बढी भौतिक पूर्वाधार मन्त्रालयको बजेट १५ अर्ब ४० करोड ३० लाख १७ हजार छ, जुन गत वर्षको तुलनामा झण्डै ८० करोड बढी हो । आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आइतबार प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ४७ करोड ७० लाख ४८ हजारको बजेट पेस गरेका थिए ।
यी हुन् एक हजार रुपैयाँका केही योजना
कञ्चनपुरः दुर्गा भवानी जाने बाटो आरसिसी (भीमदत्त नगरपालिका) पूर्वपश्चिम राजमार्गदेखि कृष्ण मावि जाने बाटो निर्माण (कृष्णपुर) माछापालन चोकदेखि दक्षिण खेलमैदानसम्म सडक निर्माण (कृष्णपुर) बोकटी टोल–गुरुङ टोल हुँदै गुल्मेली टोल सडक निर्माण (दोधाराचाँदनी) पूर्णागिरी टोलको सडक स्तरोन्नति (भीमदत्त नगरपालिका) कलुवापुर–चितौरा खण्डमा नाली निर्माण (बेलौरी) डाउना होटेलदेखि दक्षिण नथजीको घर हुँदै पूर्व ढल निकाससहित कालोपत्रे (बेदकोट) वडा कार्यालय चोकदेखि सेतो वुल हुँदै जनजागृति आविसम्म कालोपत्रे (कृष्णपुर) बेलौरी भन्सारदेखि चाददेव सडक कालोपत्रे (बेलौरी) ग्रिनपिस टोलको १ नम्बर गल्ली कालोपत्रे (भीमदत्त नगरपालिका) आनन्द मार्ग सडक निर्माण (भीमदत्त नगरपालिका) पत्थरपुर नालामा कल्भर्ट (भीमदत्त नगरपालिका) पोल्खरी झलेखोलामा पक्की पुल (वेदकोट) स्याली नदीमा पक्की पुल (शुक्लाफाँटा) घरकटुवा खोलामा कल्भर्ट र पुल निर्माण (शुक्लाफाँटा) भुजेला खोलामा पुल निर्माण (भीमदत्त नगरपालिका) गहताडी खोलामा पुल निर्माण (भीमदत्त नगरपालिका), झट्टले खोलामा पुल (बेतकोट)
कैलालीः खानेपानी हुँदै दीपेन्द्र माविदेखि सफल सुदूरपश्चिम एकेडेमीसम्मको सडक कालोपत्रे (लम्की) सुन्दरटोल कल्भर्ट निर्माण (सुखड) पृथ्वीपुर भन्सारदेखि भजनी बजार हुँदै सुखडसम्म सडक स्तरोन्नति पिपलबोटदेखि मंगल भुलको घरसम्म सडक कालोपत्रे (लम्कीचुहा) रानीवन घैलानालामा पक्की पुल निर्माण (बर्दगोरिया) सुतैयादेखि तिघरी जोड्ने पक्की पुल (लम्कीचुहा) गोदावरी नगरपालिका वडा नम्बर ३, ४ र ८ मा सडक कालोपत्रे
डडेल्धुराः मटेला सिँचाइ योजना (गन्यापधुरा), बैतडीः सिँचाइ लिफ्टिङको ट्यांकी निर्माण (डिलासैनी),अछामः मिर्केगडा सिँचाइ योजना





प्रतिक्रिया