दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा विद्यालय व्यवस्थापन, परामर्श र सुशासनको लागि प्रधानाध्यापकहरूलाई तीन दिने तालिम सम्पन्न भएको छ । लेकम गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक चुडामणी अवस्थीको अध्यक्षतामा तथा लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यतामा लेकम गाउँपालिका वडा नम्बर ५ मा अवस्थित लटिनाथ मावि चौपातामा मंगलबार उद्घाटन भएको तालिम विहिबार (आज) सम्पन्न भएको हो ।
विद्यालय व्यवस्थापन, परामर्श र सुशासनको लागि लेकमभरीका ४७ वटै विद्यालयका प्रधानाध्यापकहरूलाई विभिन्न विषयमा तालिम दिइएको एकीकृत विद्यालय दिवा खाजा कार्यक्रम अन्तरगत प्रारम्भिक तह सिकाइ कार्यक्रमका कार्यक्रम संयोजक बसन्त ठगुन्नाले बताउनुभयो । कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष बल्देब सिंह बोहराले सिकाइ कहिल्यै पुरा नहुने भएकोले शिक्षा क्षेत्रको सुधारमा सबैको ध्यान जानुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो । लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीले संघ सरकारले शिक्षामा प्रयाप्त लगानी नगरेको, प्रदेशको बजेट पहुँचको भरमा आउदा प्राथमिकताका क्षेत्र ओझेलमा परेको बताउनुभयो । लेकम गाउँपालिकाले शिक्षामा विगतदेखि लगानी गर्दै आएको स्मरण गर्दै उहाँले समस्या समाधानका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
लेकम गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक चुडामणी अवस्थीले शिक्षामा हामीले सकारात्मक प्रयास गर्दा गर्दै पनि अपेक्षित उपलब्धि प्राप्त हुन नसक्नुमा हामी कतै न कतै चुकिरहेकोले सबै पक्षले थप जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो । लेकमका ४७ वटै विद्यालयमा अभिभावक शिक्षा सम्पन्न गरेर तालिम आयोजना गरिएको प्रारम्भिक तह सिकाइ कार्यक्रमका फिल्ड प्राविधिक गम्भीरसिंह बोहराले बताउनुभयो । तालिम समापन समारोहमा सिआरडिएस दार्चुलाका कार्यकारी निर्देशक अशोकराज ओझा, विश्व शिक्षाका जिल्ला कार्यक्रम अधिकृत हिक्मत भण्डारी, इजिएलपीका जिल्ला संयोजक बसन्त ठगुन्ना लगायतको उपस्थिति रहेको थियो ।





प्रतिक्रिया