दार्चुला । कैलाली कारागारका कैदीको मृत्यु भएको घटनामा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक(सई) लाई पक्राउ गरिएको छ।
डडेलधुराको भागेश्वर गाउँपालिका वडा नम्बर ५ का २८ वर्षीय हरिस सिंह पालीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथलाई पक्राउ गरिएको प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा नाथलाई पक्राउ गरि अनुसन्धानका लागि हिरासतमा राखिएको बताएका छन् ।
नाथ मृतक पाली प्रतिवादी रहेको बैङ्किङ कसुर मुद्दाका वादी समेत हुन्। नाथले दिएको मुद्दामा पालीलाई जिल्ला अदालतले २०८० सालको फागुनमा १० दिन कैद र दुई लाख जरिबाना हुने फैसला गरेको थियो। मृतककी श्रीमती जानकी साउँदले नाथकै योजनामा कारागारभित्र कुटपिट गरि श्रीमानको हत्या गरिएको आरोप लगाउदै बुधवार कारागार प्रमुख वसन्त बहादुर खत्रीसहितका पाँच जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।
तर कैलाली प्रहरीले उनलाई जाहेरी सच्याएर ल्याउन भनेपछि बिहीवार भने नाथविरुद्ध मात्र जाहेरी दिइएको छ। प्रहरीले किटानी जाहेरी दर्ता गरेर सई नाथलाई नियन्त्रणमा लिएपछि पीडित पक्ष शव बुझ्न तयार भएको छ। सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको शवको परीक्षण सकेर परिवारलाई बुझाइने प्रहरीले जनाएको छ।





प्रतिक्रिया