दार्चुलामा सञ्चारकर्मीसंग स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा मोडेलको अन्तरक्रिया

दार्चुला । दार्चुलामा सञ्चारकर्मीसंग स्थानीय उत्पादनमा आधारित विद्यालय दिवा खाजा मोडेल सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको छ । खलंगामा उपलब्ध पत्रकार तथा सञ्चारकर्मीहरूसंग अहिलेसम्म दिवा खाजा कार्यक्रमको अभ्यास, राम्रो पक्ष वा लाभ, उद्देश्य, कार्यान्वयन प्रक्रिया, अनुगमन मूल्यांकन, समस्या तथा चुनौती र उपयुक्त मोडेलबारे छलफल गरिएको हो । बालबालिकाको वृद्धि, विकास र सिकाइका लागि पोषण निर्णायक हुने र स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको निर्माण हुन्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै नेपाल सरकारले विद्यालय दिवा खाना कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

दार्चुलामा स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा कार्यक्रम’ सञ्चालनमा छ । दार्चुलासहित सुदूरपश्चिमको तीन वटा जिल्ला बाजुरा, दार्चुला र बझाङमा सञ्चालित यो कार्यक्रमले विद्यार्थीलाई मात्र नभएर किसानलाई पनि निकै लाभदायी भएको सप्रोस नेपालका जिल्ला कार्यक्रम संयोजक कृष्ण ठगुन्नाले जानकारी दिनुभयो । गाउँघरमा नै उत्पादन‌ हुने तरकारी र दाल विद्यालयले उपयोग गर्दा गाउँको आर्थिक क्रियाकलाप फस्टाउन सहयोग गरेको छ, उहाँले भन्नुभयो, पोषणयुक्त खाजा तयार पार्न १८० दिन प्रति शैक्षिक सत्रलाई चाहिने तरकारी र दाल नियमित रूपमा किसानबाट आपूर्ति गर्दा स्थिर बजारको स्थापना भएको छ । दार्चुलामा विभिन्न गैरसरकारी संस्थाको सहयोग तथा सहकार्य र मर्सीकोर नेपालको अगुवाइमा सप्रोस नेपालमार्फत विद्यालयलाई खाध्य सामग्री उपलब्ध गराएर दिवा खाजा कार्यक्रम सञ्चालन हुँदै आएको छ । दार्चुलाका नौँ वटै पालिकामा अवस्थित इमिस (EMIS) २०८१ अनुसार जम्मा ३३९ विद्यालयका २५ हजार ७५४ बालबालिका प्रत्यक्ष लाभान्वित भएको उहाँले बताउनुभयो ।

स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रमबाट विद्यार्थी, कृषक, समुदाय र विद्यालय लाभान्वित भएका छन् । दिवा खाजा कार्यक्रम नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत देशभरका सामुदायिक विद्यालयमा आधारभूत तहमा अध्ययन गर्ने विद्यार्थीका लागि सञ्चालित कार्यक्रम हो । नेपाल सरकार, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागको अगुवाइ तथा विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको प्राविधिक सहयोगमा दिवा खाजाको मेनु तयार गरिएको छ ।

नेपाली भूमिमा उत्पादन हुने अन्नबाली, ती अन्नबालीबाट प्राप्त हुने पौष्टिकताको अध्ययन गरेर विद्यार्थीका लागि एक दिनमा आवश्यक पर्ने सूक्ष्म र बृहत् पौष्टिक तत्वको ३० प्रतिशत क्यालोरी दिवा खाजाबाट प्राप्त हुने सुनिश्चिकतासहित क्षेत्रगत मेनु तयार गरिएको छ । विद्यार्थीको उमेर समूह अनुसार अन्न, गेडागुडी, फलफूल, सागपात र पशुजन्य समूहलाई समेटेर देशको भूगोललाई १० वटा क्षेत्र जस्तै पूर्वी तराई , मध्य पहाड, पश्चिम हिमाल आदिमा विभाजन गरी मेनु तयार गरिएको छ । मेनु सेटमा छ वटा छुटाछुट्टै खाजा समावेश गरिएको छ र सबै क्षेत्रमा गरी जम्मा ६० प्रकारका खाजा प्रस्तुत गरिएका छन् । स्थानीय उत्पादनलाई ध्यानमा राखेर रैथाने खाजा जस्तै, मकैको खिर, तरकारी, कोदोको हलुवा, मासको जाउलो आदि छन् । 

आर्थिक वर्ष २०८१ /८२ मा रु. आठ अर्ब ३९ करोड लगानी दिवा खाजा कार्यक्रमलाई नेपाल सरकारले छुट्याएको छ । नेपालका ७२ जिल्लामा प्रति विद्यार्थी रु. १५ र कर्णाली प्रदेशका पाँच वटा जिल्लामा रु. २० रुपियाँको दरले दिवा खाजा कार्यक्रम कार्यान्वयन भइरहेको छ । स्थानीय तह र विभिन्न संस्थाको समन्वयमा बजेटलाई बढाएर समेत केही ठाउँमा यो कार्यक्रम सञ्चालनमा छ । विद्यालय दिवा खाजा व्यवस्थापन सहयोगी पुस्तिका २०७७ को अनुसार दिवा खाजा कार्यक्रमलाई एक डलर लगानी गर्दा ५.२ डलर बराबरको प्रतिफल हुने लागत लाभ विश्लेषण गरिएको छ । शिक्षामन्त्री हुँदा विद्या भट्टराईको पहिलो निर्णय पनि स्थानीय उत्पादनले दिवा खाजालाई दिगो बनाउनु पर्छ भन्ने थियो ।

दिवा खाजाको सकारात्मक प्रभाव धेरै छन् । पोषणको दृष्टिकोणबाट नभएर विद्यार्थीको भर्नाको दरमा उत्साहजनक वृद्धि, विद्यार्थीको उपस्थितिमा वृद्धि र किशोरीको शिक्षाको दर बढाउन सकारात्मक प्रभाव पारेको छ । कक्षा छोड्ने प्रवृत्तिमा न्यूनीकरण भएकाले र कक्षा दोहोर्‍याउने सङ्ख्या घटेको हुनाले सिकाइमा गुणस्तर बढेको छ । गरिबीको कारणले विद्यालय आउन नसकेका विद्यार्थी पनि आउन थालेको, भोकले कक्षाकोठामा खासै ध्यान दिन नसकेका वा हाफटाइममा भाग्ने विद्यार्थीले पनि खाजापश्चात् ध्यान दिन थालेको, सिकाइप्रति अनुपस्थित हुने दरमा पनि सुधार आएको छ ।

अन्तर्राष्ट्रिय संघ, संस्थाहरूले सहयोग कटौती गरेपछि दार्चुलामा दिवा खाजा प्रभावित हुने चिन्तामा सरोकारवालाहरू छन् । अहिलेको समयमा १५ रुपियाँप्रति विद्यार्थीमा दिवा खाजा कार्यक्रम चलाउन गाह्रो छ । विद्यालयमा पकाउने ठाउँ, भण्डारण र पकाउने जनशक्ति अभावको व्यवस्थापनलाई सबै सरोकारवालको समन्वय, सहकार्य र साझेदारीबाट मात्र समाधान गर्न सम्भव हुन्छ । एउटै पालिकामा पनि भूगोल, पहुँचका कारण समान, स्रोत हुँदा पनि चुनौती भने फरक छन् । अहिले यो कार्यक्रम कुन मोडेलमा उपलब्ध गराउदा प्रभावकारी होला भनेर सरोकारवालाहरूसंग छलफल, अन्तरक्रिया भइरहेको सप्रोस नेपाल दार्चुलाले जनाएको छ ।

दिवा खाजा कार्यक्रमको विस्तार र दिगोपनका लागि बहुक्षेत्रीय सहभागिकता आवश्यक रहेको छ । दिवा खाजा कार्यक्रम गुणस्तरीय र दिगो बनाउन सरकार, स्थानीय तहसंगै सङ्घ संस्था वा विभिन्न निकायसँग विद्यालयले लागत साझेदारीका रूपमा सहयोग लिन आवश्यक छ । अहिले दार्चुलाका विभिन्न स्थानीय तहले दिवा खाजाका लागि तरकारी खरिद तथा व्यवस्थापनका लागि बजेट समेत विनियोजन गरेका छन् । साथै ढुवानी र भान्सा व्यवस्थापनमा समेत पालिकाहरूले सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?