दार्चुला । स्पनेको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन्।
विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन स्पेन गएका प्रधानमन्त्री ओली आज दिउँसो पौने चार बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्ने उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओली आज बिहान स्पेनको मेड्रिडबाट कतारको दोहातर्फ प्रस्थान गरिसकेका छन्।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली असार १४ गते शनिबार स्पेन प्रस्थान गरेका थिए। स्पेनमा प्रधानमन्त्री ओलीले स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेज, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस, स्टोनियाका राष्ट्रपति अलार कारिस इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको भेटवार्ता गरेका थिए। प्रधानमन्त्री ओलीले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका थिए। सम्मेलनलाई सम्बोधन गर्दै ओलीले जलवायु परिवर्तनको चपेटामा सबैभन्दा बढी अल्पविकसित राष्ट्रहरू परिरहेको गुनासो पोखेका छन्। प्रधानमन्त्री ओलीले विकसित राष्ट्रहरूको प्रविधि, लगानी र नवप्रवर्तनमा द्रुत उन्नति भइरहे पनि अल्पविकसित मुलुकहरू अझै डिजिटल र प्राविधिक विभाजनको सिकार भइरहेका बताएका छन् ।
प्रधानमन्त्री ओलीले ‘थिम आधारित राउण्ड टेबल(अन्तरराष्ट्रिय विकास सहयोगको पुनर्जीवन’ मा सहअध्यक्षतासहित सम्बोधन गर्दै साझा विश्वव्यापी समृद्धिको मार्गलाई पछ्याउँदै आवश्यकताभन्दा कम र असन्तुलित रूपमा प्रवाह भइरहेको विकास सहायतामा रूपान्तरण हुनुपर्ने बताउनुभएको छ ।





प्रतिक्रिया