दार्चुला । बैतडीमा जीप दुर्घटना परेर घाइते भएका दुई जनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुलाको गन्ना तर्फ आउँदै गरेको सुप प्र ०४ ००१ज १३७२ नम्बरको जिप दुर्घटना हुँदा घाइतेभएका दुई जनाको मृत्यु भएको हो ।
डिलासैनी गाउँपालिका वडा नम्बर १ का चालकसमेत रहेका २४ वर्षीय सन्तोषबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
जीपमा सवार अन्य ६ घाइते भएका छन् । डिलासैनी गाउँपालिका १ का ४५ वर्षीय राम कुमार राना, २१ वर्षीय भागरती खत्री उनकी २ वर्षकी छोरी एलिसा, २१ वर्षका हेमन्त प्रसाद भट्ट, २७ वर्षीय राजेन्द्र बहादुर खत्री र ५१ वर्षीय कलमा धामी घाइते भएका प्रहरी निरीक्षक पाण्डेयले बताउनुभयो ।
राजेन्द्र र कलमालाई थप उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।शनिवार बिहान करिब साढे ५ बजेको समयमा बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ स्थित खिपालीमा दुर्घटना भएको हो ।जीप सडकबाट करिब १०० मिटर तल भिरमा थामिएको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।





प्रतिक्रिया