दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ मा विद्युतिकरण अन्तरगत बिहिबार र शुक्रबार दुई ठाँउमा विद्युत ट्रान्सफर्मर चार्ज गरिएको छ । विहिबार वडा नम्बर ३ को गोइलाड र शुक्रबार (हिजो) खम्तडमा ट्रान्सफर्मर चार्ज गरिएको लेकम गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष एंव गाउँपालिका प्रवक्ता सुरेश सिंह थापाले जानकारी दिनुभयो ।
लेकमकै विकट क्षेत्र मध्येको रतौडामा आइतबार (भोली) ट्रान्सफर्मर चार्ज गर्ने तयारी रहेको उहाँले बताउनुभयो । विद्युत ट्रान्सफर्मर चार्ज गरिएसंगै स्थानीयले बिजुली बाल्न पाउने भन्दै खुसी व्यक्त गरेका छन् । लामो प्रयासपछि दुर्गम क्षेत्र रतौडामा समेत विद्युत लाइन विस्तार गर्न सम्भव भएको बताउदै उहाँले कामदार र विद्युत प्रोजेक्टलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
ग्रमीण विद्युतिकरण अन्तरगत लेकमका विभिन्न ठाउँमा जडान गरिएका ट्रान्सफर्मर चार्ज गरि सेवा विस्तार गरिएको विद्युत प्रोजेक्ट दार्चुलाका इन्जिनियर मनोज बस्नेतले बताउनुभयो । लेकम गाउँपालिकामा छिटफुट बाहेक अधिकांस क्षेत्रमा विद्युतिकरण भईसकेको उहाँले बताउनुभयो । विद्युत विस्तार हुन बाँकी तथा छुट भएका गाउँघरमा समेत विद्युतिकरणको काम चाँडो गरिदिन स्थानीयले माग गरेका छन् ।





प्रतिक्रिया