दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ मा रहेको शंकरपुर क्याम्पस पस्ती, बैतडीको पुर्चौडी बहुमुखी क्याम्पस हाँट र गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज गोकुलेश्वर सहित सुदूरपश्चिमका विभिन्न १३ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ।
प्रदेशका १३ सामुदायिक क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत आंगिक क्याम्पसको रूपमा समायोजन गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिएको हो । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री निवास बालकोट पुगेर औपचारिकरूपमा माग पत्र बुझाएको हो।
पत्रमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त १३ वटा क्याम्पसलाई ०८२/०८३ मा आंगिकको रुपमा समायोजन गरिदिन आग्रह गरिएको छ । ध्यानाकर्षण पत्रमा शिक्षा विकासलाई प्रदेशको दीर्घकालीन आर्थिक आत्मनिर्भरता र समाज परिवर्तनको आधार मानिएको छ । “सत्यसित नलड्ने र शक्तिसित नझुक्ने“ समाज निर्माणमा शिक्षाको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराइएको उल्लेख गरिएको छ ।
प्रतिनिधिमण्डलले दार्चुलाको शंकरपुर क्याम्पस पस्तीसहित, भानु बहुमुखी क्याम्पस दोधरा चाँदनी कञ्चनपुर, अछाम बहुमुखी क्याम्पस मंगलसेन अछाम, लम्की बहुमुखी क्याम्पस कैलाली, केदार ज्योतीपुञ्ज बहुमुखी क्याम्पस डोटी, घोडाघोडी बहुमुखी क्याम्पस कैलाली, कृष्ण वैजनाथ बहुमुखी क्याम्पस झलारी कञ्चनपुर, पुचौडी बहुमुखी क्याम्पस हाँट बैतडी, बझाङदीप बहुमुखी क्याम्पस बझाङ, सुनकुडा बहुमुखी क्याम्पस बझाङ, भिमदत्त बहुमुखी क्याम्पस डडेल्धुरा, महाकाली बहुमुखी क्याम्पस बेलौरी कञ्चनपुर र गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज गोकुलेश्वर बैतडीलाई सुदूपश्चिम विश्वविद्यायको आंगिक क्याम्सपसमा समायोजन गरिदिन माग गरिएको छ।
सुदूरपश्चिम प्रदेश भौगोलिक रूपमा विकट र विकासमा पछाडि परेको क्षेत्र भएकाले शिक्षामा गरिएको लगानीले बसाइँसराइ नियन्त्रण, स्थानीय रोजगारीको सृजना र उत्पादनमुखी अर्थतन्त्रतर्फको यात्रा सहज बनाउने दाबी गरिएको छ । प्रधानमन्त्री ओली नेतृत्वको सरकारले शिक्षालाई प्राथमिकतामा राख्दै आत्मनिर्भर राष्ट्र निर्माण गर्ने प्रतिबद्धता जनाउँदै आएको छ । सोही अनुसार क्याम्पस समायोजनको प्रक्रिया पनि तत्काल अगाडि बढाउन ध्यानाकर्षण पत्रमार्फत आग्रह गरिएको छ ।
२०७८ साल भदौ १० मा प्रधानमन्त्रीकै अध्यक्षतामा बसेको विश्वविद्यालय सभाको निर्णयअनुसार समायोजन प्रक्रिया अघि बढेको उल्लेख गर्दै शिक्षा मन्त्रालयले ४१८ वटा दरबन्दीको प्रस्ताव अर्थ मन्त्रालयमा पठाइसकेको जनाइएको छ । नेता भट्टको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा एमाले पोलिटब्यूरो सदस्य तथा दार्चुला इन्चार्ज गणेश सिंह ठगुन्ना, एमाले पोलिटब्युरो सदस्य तथा पूर्व मूख्यमन्त्री राजेन्द्र रावल, एमाले कैलाली इन्चार्ज नारदमुनी राना, एमाले कञ्चनपुर इन्चार्ज निरुदेवी पाल र एमाले डोटी इन्चार्ज गौरी ओली हुनुहुन्थयो । त्यस्तै एमाले केन्द्रिय कमिटी सदस्य तथा बाजुरा ईन्चार्ज लाल बहादुर थापा, केन्द्रिय कमिटी सदस्य तथा अछाम इन्चार्ज झपट बोहरा, डडेल्धुरा इन्चार्ज पठान सिंह बोहरा, केन्द्रिय कमिटी सदस्य तथा बैतडी इन्चार्ज लिलाधर भट्ट, सुदुरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र बहादुर पाल, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजका प्रमुख परमानन्द जोशी र अनेरास्ववियु केन्द्रिय कमिटी निर्वतमान उपाध्यक्ष गोविन्द गिरी लगायत हुनुहुन्थ्यो ।
ध्यानाकर्षण पत्र हेर्नुहोस्!
उपर्युक्त विषय सम्बन्धमा सनम्रतापूर्वक निवेदन यस प्रकार छ कि सुदूरपश्चिम प्रदेश अन्तरगतका विभिन्न जिल्लाहरुमा अवस्थित त्रि।वि। बाट सम्वन्धन प्राप्त तपशिलका क्याम्पसहरु मिति २०८१ साल भाद्र १० गतेका दिन सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली ज्यू को अध्यक्षतामा वसेको सु।प। विश्वविद्यालय सभा तथा अन्य विभिन्न मितिमा वसेका विश्वविद्यालय सभाहरुबाट स्वीकृत भएको सु।प। विश्वविद्यालयको आंगिक क्याम्पस अन्तरगत समायोजन गर्नेगरी गरिएको निर्णय अनुसार प्रक्रियागत चरण पारगर्दै मिति २०८१ साल जेठ ८ गतेका दिन शिक्षक तथा कर्मचारीहरुका लागि, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयवाट, ४१८ ओटा दरवन्दिहरु स्वीकृतीको लागि अर्थ मन्त्रालयमा दर्ता भएको व्यहोरा अनुरोध छ ।
शिक्षा विकासको पहिलो खुडकिलो मात्र नभई मानसिक विकासको प्रथम कारक भएको व्यहोरा अनुरोध छ । सुदुरपश्चिम प्रदेश कम विकास र विकटताको श्रेणीमा पर्ने प्रदेशहरु मध्येको एक प्रदेश हो। शिक्षालयहरुको उचित व्यवस्थापनवाट गुणस्तरीय शिक्षाको विस्तार सम्भव हुनुका साथै हाल नेपालमा देखिएको वसाइ सराईको समस्यालाई पनि न्यूनिकरण गर्न सहायक हुन सक्दछ । शिक्षाले सम्माननीय ज्यूबाट उधृत “सत्य सित नलड्नु र शक्ति सित नझुक्नु” भन्ने भावको समाज निर्माण हुन सक्दछ । यसरी शिक्षाको उचित विस्तार र विकासको कारण उत्पादनमुखी लगानी, समान वितरण, गुणस्तरीय अधिक उत्पादन र प्राकृतिक सम्पदाको उचित दोहन प्रेरित हुन सक्दछ । परिणाम स्वरुप आवश्यकताका वस्तुहरुको कम आयात हुनुका साथै निर्यातमुखी अर्थ व्यवस्थाको स्वरुपको फैलाव हुन सक्ने सम्भावना समेत हुनसक्दछ । शिक्षामा गरिएको लगानीले लोककल्याणकारी अवधारणामा टेवा पुर्याउछ र राज्यमा सामाजवाद उन्मुख संकेतहरु पनि देखापर्न थाल्छन् ।
सम्माननीय ज्यू को नेतृत्वको वर्तमान सरकारको प्राथमिकतामा शिक्षाको विकासका साथै उत्पादन वृद्धिबाट आयातको सट्टा निर्यात वढाउने उने र राज्यलाई आत्मनिर्भर वनाउने तथ्य चम्कीलो सूर्यबाट प्राप्त घामले भएको प्रकृतिको संरक्षण झै सत्य छ । अतः सम्माननीय ज्यूको महत्वपूर्ण समय नखर्ची तपशिलका विभिन्न क्याम्पसहरुलाई यस आ।व। २०८२/०८३ मा सुदुरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गरिदिन हुन निम्रतापूर्वक अनुरोध छ ।





प्रतिक्रिया