दार्चुला । राष्ट्रिय कोदो दिवस दार्चुलामा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ। सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउने निर्णय गरेको थियो ।
कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन र खाद्य तथा पोषण सुरक्षाका लागि ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारासहित आज राष्ट्रिय कोदो दिवस मनाइएको हो ।
जिल्लाको मालिकार्जुन गाउँपालिका प्रथम राष्ट्रिय कोदो दिवस मनाएको गाउँपालिका उपाध्यक्ष कल्यान सिंह धामीले बताउनुभयो । मालिकार्जुन गाउँपालिकाको आयोजना तथा गाउँपालिकाका अगुवा कृषक गोपाल दत्त पन्तको सहजीकरणमा कोदो दिवस मनाएको उहाँले बताउनुभयो ।
दार्चुलामा गत आर्थिक बर्ष २०८१/०८२ मा १ हजार १९६ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएको कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख शिद्धराज उपाध्यायले बताउनुभयो । खेती गरिएको क्षेत्रमा १ हजार २ सय ५० मेटिक्टन कोदो उत्पादन भएको उहाँले बताउनुभयो ।
दार्चुलाको दुहुँ, मालिकार्जुन, मार्मा र नौगाड गाउँपालिकामा कोदो बढी उत्पादन हुने गरेको छ। जिल्लामा कोदोको औषत उत्पादन १.०५ मेट्रिक्टन प्रतिहेक्टर रहेको उहाँले बताउनुभयो । जिल्लामा कोदोको माग र बजार राम्रो रहेको भए पनि खेती र उत्पादन भने कम रहेको उहाँले बताउनुभयो । ‘जिल्लामा उत्पादन भएको कोदोको आधा जती हिस्सा जिल्ला बाहिर निर्यात हुने गरेको छ। जिल्लामा मात्रै नभएर जिल्ला बाहिरबाट समेत कोदोको माग भइरहेको छ, माग अनुसारको उत्पादन चै भएको छैन्’ उहाँले भन्नुभयो ।
अहिले दार्चुलामा कोदोको पिठो प्रति केजी ८० रुपैँयामा बिक्रि भइरहेको ज्ञान केन्द्र प्रमुख उपाध्यायले बताउनुभयो । चालु आर्थिक बर्षमा प्रांगारीक कृषि उत्पादन कार्यक्रम अन्तरगत रसायन विना नै उत्पादन हुने कृषि उपजको लागि विभिन्न कार्यक्रम रहेको र त्यस्मा कोदोको उत्पादन तथा ब्रान्डीङको लागि कृषि ज्ञान केन्द्रले पनि कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभयो ।
कृृषकले उत्पादन गरेको कोदोको बजारीकरणको लागि सबै स्थानीय तहले खाद्य व्यवस्था तथा व्यापार कम्पनी संग सम्झौता गरेको र कृषि ज्ञान केन्द्रले पनि त्यस्मा सहजीकरण गर्ने उहाँले जानकारी दिनुभयो ।
रासायनिक मलखाद र विषादीको प्रयोग नगरी वा कम गरेर पनि कोदोको औसत उत्पादन लिन सकिने र हानिकारक हरित ग्यास उत्सर्जन कम गर्नमा सघाउ पुर्याई जलवायु परिवर्तन न्यूनीकरणमा समेत सहयोग पुग्ने कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख शिद्धराज उपाध्यायले बताउनुभयो । देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने विज्ञहरुको भनाई छ।





प्रतिक्रिया