दार्चुला । दार्चुलाका ९ ओटै स्थानीय तहमध्ये नौगाड गाउँपालिका स्वास्थ्य सेवाको क्षेत्रमा उत्कृष्ट भएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य निर्देशनालयले बार्षिक समीक्षाको समापन कार्यक्रमको दिन आज गाउँपालिकालाई प्रदेश स्वास्थ्य सेवा पुरस्कारबाट पुरस्कृत गरिएको हो ।
मुख्यमन्त्री त्रिलोचन भट्टले नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीलाई गाउँपालिकाले प्राप्त गरेको ४० हजार पुरस्कार र सम्मान पत्र एक कार्यक्रमकाबीच हस्तान्तरण गर्नुभयो ।
प्रदेशको स्वास्थ्य निर्देशनालयले ९ ओटै जिल्लाका स्थानीय तहमध्ये प्रत्येक जिल्लाका एक एकओटा स्थानीय तहहरुलाई स्वास्थ्य क्षेत्रका उत्कृष्ट स्थानीय तहको रुपमा पुरस्कृत गरेको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा गरेको योगदान, कार्यक्रम कार्यान्वयन लगायतका बिषय हेरर स्थानीय तहहरुलाई अंक दिएर उत्कृष्ट छनौट गरिएको उहाँले बताउनुभयो ।
यस्तै प्रदेश स्वास्थ्य निर्देशनालयले छनौटका आधार तय गरेको र ती आधारमा उच्च अंक प्राप्त गर्ने पालिकालाई स्वास्थ्य क्षेत्रका उत्कृष्ट पालिकाको रुपमा पुरस्कृत एवं सम्मान गरिएको हो । गाउँपालिकाको पुरस्कार तथा सम्मान ग्रहण गरेपछि नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले भन्नुभयो ‘यो सम्मानले हामीलाई अझै स्वास्थ्य क्षेत्रमा थप काम गर्न प्रेरणा मिलेको छ, अगामी दिनमा सेवालाई अझै नागरिक मैत्री बनाउन प्रयास गर्नेछौ।
स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र बहादुर कार्कीका अनुसार दार्चुलाका तीन जना स्वास्थ्यकर्मी पनि सम्मानित भएका छन् । सम्मानित हुनेमा जिल्ला अस्पताल दार्चुलाका प्रमुख डा. गजेन्द्र दुवाल, स्वास्थ्य कार्यालय दार्चुलाका कोभिड १९ फोकल पर्शन एबं खोप सुपरभाइजर बिरेन्द्र राज भट्ट र महाकाली नगरपालिकाका सहसंयोजक लालजिरा भट्ट रहेका छन् ।
उत्कृष्ट स्वास्थ्यकर्मीको सम्मान पाएका तीनै जनालाई २० हजार नगद सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मानित गरीएको सूचना अधिकारी कार्कीले बताउनुभयो ।
सुदूरपश्चिमका ९ स्थानीय तह पुरस्कृत
स्वास्थ्य सेवामा उत्कृष्ट कार्यसम्पादन गर्ने सुदूरपश्चिमका ९ स्थानीय तहलाई प्रदेश स्वास्थ्य सेवा पुरस्कारबाट पुरस्कृत गरिएको छ। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालयले ती स्थानीय तहलाई शनिबार एक कार्यक्रमकाबिच पुरस्कृत गरेको हो।
पुरस्कृत हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका, कैलालीको टिकापुर नगरपालिका, डडेल्धुराको नवदुर्गा गाउँपालिका, डोटीको आदर्श गाउँपालिका, अछामको रामारोशन गाउँपालिका, बाजुराको गौमुल गाउँपालिका, बझाङ्गको जयपृथ्वी नगरपालिका, बैतडीको पाटन नगरपालिका र दार्चुलाको नौगाड गाउँपालिका रहेका छन्।
पुरस्कृत हुने स्थानीय तहलाई ४० हजार पुरस्कार प्रदान गरिएको स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी ओमप्रकाश जोशीले बताउनुभयो ।





प्रतिक्रिया