दार्चुला । मुलुकमा यसपालि भदौ १ गतेसम्म ९४ प्रतिशत धान रोपाइँ भएको छ । यो परिमाण गत वर्ष सोही अवधिको दाँजोमा ४ प्रतिशतभन्दा कम हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार १ भदौसम्म ९४.१५ प्रतिशत धान रोपाइँ भएको हो । गत वर्ष २ भदौ २०८१ मा भने ९८.४४ प्रतिशत रोपाइँ भएको थियो । मन्त्रालयका अनुसार १३ लाख ७६ हजार ४ सय ६६ हेक्टर धान रोपाइँ हुने क्षेत्रफलमध्ये १ भदौसम्म १२ लाख ९५ हजार ८ सय ८७ हेक्टरमा धान रोपाइँ भएको छ ।
प्रदेशगत हेर्दा कोशीमा २५ साउनसम्म ९४.४२ प्रतिशत रोपाइँ भएको छ । मधेश प्रदेशमा ३० साउनसम्म ८६.३५ प्रतिशत रोपाइँ भएको छ । बागमती प्रदेशमा २५ साउनसम्म ९७.२७ प्रतिशत रोपाइँ सकिएको छ । गण्डकी प्रदेशमा १ भदौसम्म ९४.८३ प्रतिशत रोपाइँ सकिएको छ । लुम्बिनी प्रदेशमा २५ साउनसम्म ९८.०७ प्रतिशत धान रोपाइँ भएको छ । कर्णाली प्रदेशमा १ भदौसम्म ९९.३४ प्रतिशत रोपाइँ सकिएको छ । सुदूरपश्चिम प्रदेशमा १८ साउनसम्म ९९.७२ प्रतिशत रोपाइँ भएको छ ।
सुदूरपश्चिममा धान रोपाइँ हुने १ लाख ७६ हजार १ सय ५१ हेक्टर क्षेत्रफलमध्ये १ लाख ७५ हजार ६ सय ५२ हेक्टरमा रोपाइँ भएको हो । गत वर्ष सोही अवधिमा शतप्रतिशत रोपाइँ भएको थियो । अरु प्रदेशको तुलनामा अन्नको भण्डारका रुपमा चिनिने मधेश प्रदेशमा रोपाइँ न्यून भएको हो ।





प्रतिक्रिया