दार्चुला । सडकमाथिबाट पहिरो आएपछि अवरुद्ध भएको महाकाली लोकमार्ग अन्तरगत गोकुलेश्वर–खलंगा सडकखण्ड खुलेको छ । सोमबार रातीको बर्षाको कारण मालिकार्जुन गाउँपालिका–३ तेर्छालेकमा सडक माथिबाट पहिरो खस्दा उक्त सडक खण्ड अवरुद्ध भएको थियो । बेलुकी ५:३० बजेदेखि सडक सञ्चालन भएको हो ।
सोही ठाउँमा आइतबार राति पहिरो खस्दा सोमबार विहान समेत सडक अवरुद्ध भएको थियो । सोमबार पहिरो पन्छाएर सडक सञ्चालन भएपनि गयरातिको बर्षाले मंगलबार (आज) विहानदेखी फेरि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो । अवरुद्ध सडक सञ्चालनको लागि जेसिबी लगाएर पहिरो पन्छ्याए पछि यातायातका साधनहरू अहिले पास भएका छन् । उक्त क्षेत्रमा सडक माथिबाट लेदोसहितको पहिरो खस्ने क्रम जारी रहेकोले जोखिम कायमै रहेको छ । सडकमा जमेको लेदो पन्छाउने बित्तिकै फेरि माथिबाट लेदो खसेकोले यातायातका साधन पास गर्न ढिलाइ भएको सडक डिभिजन कार्यालय पाटन बैतडीका फिल्ड सुपरभाइजर राजेन्द्र सिंह धामीले बताउनुभयो ।
दार्चुलामा सडक डिभिजन कार्यालयका २ वटा मेसिन लोडर र जेसिबी रहेकोमा मालिकार्जुनमा रहेको लोडर बिग्रीएपछि पहिरो हटाउन समस्या भएको उहाँले बताउनुभयो । मालिकार्जुनमा लोडर र गल्फैमा जेसिबी राखेर बर्षातको समयमा अबरुद्ध सडक सफाई गरिरहेका थियौ, मालिकार्जुनमा रहेको लोडर बिग्रीएपछि तेर्छालेकमा पहिरो हटाउन ढिलाइ भएको हो, उहाँले भन्नुभयो । मालिकार्जुन प्रहरी चौकीबाट दिउँसो पछि सडक खुलेको जानकारी प्राप्त भएपछि लोकदर्पण टिभी अनलाइनमार्फत सडक सुचारु भएको समाचार केही समय पहिले नै प्रकाशित भएको थियो तर उक्त जानकारी झुटो रहेको र बेलुकी साढे ५ बजेपछि मात्रै सडक खुलेको प्रतक्षदर्शीले बताएका छन् ।
बिग्रेको मसिन समयमै नबनाएको र सडक खुलाउन लापरवाही गरेको स्थानीयदेखि नागरिक अगुवा र यात्रुहरूको गुनासो छ । सोमबार सोही ठाउँमा खसेको पहिरो हटाउने क्रममा मेसिन बिग्रीएको बताइएको छ। हिजो देखि ठेकेदारको जेसिबी लगाएर बाटो सफाई गरिहेकोमा उक्त मेसिन पनि बिग्रीए पछि थप समस्या भएको सुपरभाइजर धामीको भनाइ छ । अहिले जिल्लाको गल्फैमा रहेको सडक डिभिजन कार्यालयको जेसिबी पनि मगाइएको उहाँले बताउनुभयो । बिहान देखि सडक अबरुद्ध हुदा यात्रु समस्यामा परेका छन् । बाटो अबरुद्ध भएको १२ घण्टा सम्म पनि सुचारु गर्न नसेको भन्दै आलोचना भइरहेको थियो ।
सडकमार्ग अवरुद्ध भएपछि जिल्लाबाट छुट्ने तथा जिल्ला भित्रने लामो तथा छोटो दूरीका सवारी साधन आवतजावतमा समस्या भएको थियो । दार्चुलाबाट महेन्द्रनगर, काठमाडौँका लागि छुटेका बस बाटोमा नै रोकिएका थिए । छोटो दूरीका सवारीसाधनसमेत नियमित सञ्चालन हुन नसक्दा यात्रीले सास्ती भोग्नुपरेको छ । उक्त क्षेत्रमा पटकपटक पहिरो खस्ने गरेको छ ।





प्रतिक्रिया