दार्चुलाको दुहुँ गाउँपालिकाद्वारा डाक्टर र इञ्जिनियर पढ्नेलाई छात्रवृत्ति

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकाले स्थानीय विद्यार्थीलाई डाक्टर र इञ्जिनियर बनाउन छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । पालिकाले कुल खर्चको ५० प्रतिशत रकम छात्रवृत्ति स्वरुप विद्यार्थीलाई उपलब्ध गराउँदै आएको निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरसिंह धामीले बताउनुभयो।

वि.सं.२०७९ मा नरेन्द्रबहादुर सिंह बडाल अध्यक्षमा निर्वाचित भएपछि सुरु गरिएको यो कार्यक्रम २०८० सालदेखि नियमितरूपमा सञ्चालनमा छ । हालसम्म दुहुँका आठ जनाले एमबिबीएस, बीइ सिभिल र बीइ कम्प्युटर इञ्जिनियरिङमा छात्रवृत्ति प्राप्त गरी अध्ययनरत छन् । छात्रवृत्ति प्राप्त विद्यार्थीले अध्ययन सकिएपछि कम्तीमा एक वर्ष गाउँपालिकामै सेवा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

गाउँपालिकाबाट प्राप्त छात्रवृत्तिले छोरालाई पढाउन निकै सहज भएको अभिभावक भगवती बडालले बताउनुभयो । छोरा भुपेन्द्रको इञ्जिनियरिङ पुरा गर्न कुल आठ लाख ५० हजार लाग्नेमा गाउँपालिकाले चार लाख २५ हजार छात्रवृत्तिस्वरुप दिने भएपछि पढाइमा सहज भएको उहाँको भनाइ छ ।

शिक्षा क्षेत्रमा थप लगानी गर्दै गाउँपालिकाले कक्षा १० सम्म पूर्णरूपमा निःशुल्क गरेको छ । दुहुँ गाउँपालिकाले अनाथ बालबालिकाका लागि आवासीय अनाथालय सञ्चालन गरेर गाँस, बाँस, कपाससहित पढाइको सुविधा दिएको छ । ‘टुहुरा बालबालिका, सहारा गाउँपालिका’ कार्यक्रममार्फत १२ छात्र र तीन छात्रालाई आवासीय अनाथालय विद्यालयमा पढाइरहेको गाउँपालिकाले जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?