दार्चुला । अन्तरिम सरकार गठन र प्रक्रियाबारे छलफल तीव्र भएको छ । तर अहिलेसम्म निष्कर्ष र निकास निस्कन सकेको छैन ।
आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानसेनापति अशोकराज सिग्देल शीतलनिवास पुग्नुभएको थियो । तर राष्ट्रपति पौडेल, प्रधानसेनापति सिग्देल र ‘जेन–जी’ बीच त्रिपक्षीय छलफलको वातावरण नबनेपछि शीतलनिवासबाट बाहिरिएका प्रधानसेनापति सिग्देल फेरि राष्ट्रपति कार्यालय पुग्नुभएको छ ।
यसअघि राष्ट्रपति पौडेलले अबको निकासबारे प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्षसँग परामर्श गर्नुभएको छ । त्यस्तै राष्ट्रपतिले अन्तरिम सरकार गठनबारे सरोकारवालासँग छलफल गर्ने जिम्मेवारी आफ्ना सल्लाहकारलाई दिनुभएको छ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने सहमति गएराति नै भएको थियो । अरू विषयमा लगभग टुङ्गोमा पुगे पनि ‘जेन–जी’ ले संसद् विघटन हुनुपर्ने बताउँदै आएका छन् ।
अन्तरिम सरकार र संसदका विषयमा कसरी संवैधानिक प्रक्रिया पूरा गर्ने भन्नेबारे परामर्श तीव्र भइरहेको छ । संविधानमा संसदकाे सदस्यभन्दा बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउने कुनै व्यवस्था छैन । एउटा निष्कर्षपछि मात्रै भौतिक उपस्थितिबीच सबैसँग सहमति गर्ने तयारी छ । ‘जेन–जी’ आन्दोलन चर्केपछि गएको मङ्गलवार केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।





प्रतिक्रिया