दार्चुला । अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको छ । मन्त्री बन्ने सम्भावित नामहरुको चर्चा धेरै भए पनि को–को मन्त्री हुँदैछन् भन्ने टुङ्गो लागेको छैन । अहिलेलाई सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीले नै लिनुभएको छ ।
गएराति राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शीतल निवासमा शपथ ग्रहण गराउँदै सफल कार्यकालको शुभकामना दिनुभएको थियो । शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश, नेपाल सरकारका उच्च पदस्थ र कूटनीतिज्ञहरू सहभागी थिए ।
पहिले शपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू र मन्त्रीहरु पनि उपस्थित हुने गर्थे । निवर्तमान प्रधानमन्त्रीले शपथ समारोहमा कुर्सी हस्तान्तरण गर्ने चलन थियो । तर यसपटक त्यस्तो भएन । प्रधानमन्त्री कार्कीको सपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्रीहरूमा डा. बाबुराम भट्टराई मात्र उपस्थित हुनुभयो । राजनीतिक दलका नेताहरू पनि उपस्थित भएनन् । रास्वपा नेता सुमना श्रेष्ठ भने शपथमा उपस्थित हुनुहुन्थ्यो ।
यास्तै राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटनको निर्णय गर्नुभएको छ । गएराति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनुभएकी कार्कीले आफ्नो पहिलो निर्णयमा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्नुभएको थियो ।
नवनियुक्त प्रधानमन्त्री कार्कीले गरेको विघटनको सिफारिस राष्ट्रपति पौडेलले सदर गर्दै आउँदो फागुन २१ गते बिहीबारका दिन चुनावको मिति घोषणा गर्नुभएको छ । राष्ट्रपतिले गएराति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन गर्नुभएको हो ।





प्रतिक्रिया