दार्चुला । दार्चुलामा चाड–पर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । नेपालीहरूको प्रमुख चाड दशैं, तिहार र छठपर्वलाई ध्यानमा राखी सोमबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलाले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलाका प्रमुख हर्कराज उपाध्यायका अनुसार चाडपर्वका बेला उपभोक्ताहरूलाई सस्तो र गुणस्तरीय वस्तु उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालन गरिएको हो ।
कार्यालयले आगामी कार्तिक ७ गतेसम्म पसल सञ्चालन गर्ने जनाएको छ । यस अवधिमा जिल्लावासीलाई चामलमा प्रतिकेजी पाँच रुपैयाँ छुटसहित बिक्री गरिनेछ । अन्य खाद्य सामग्री तथा अत्यावश्यक वस्तु पनि सामान्य मूल्यभन्दा कममा उपलब्ध गराइने कार्यालयले जानकारी दिएको छ ।
सदरमुकाम खलंगासहित जिल्लाका अन्य स्थानीय तहमा समेत सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने तयारी भइरहेको कार्यालयले जनाएको छ । उपभोक्ताहरूले सुपथ मूल्य पसलबाट दैनिक उपभोग्य सामग्री किन्न सक्नेछन् ।





प्रतिक्रिया