दार्चुला । दार्चुला कारागारबाट भागेका आठ जना कैदी अझै फरार रहेका छन । जेनजी प्रदर्शनको क्रममा गएको भदौ २४ गते जिल्ला कारागारबाट भागेका ७१ जनामध्ये ६३ जना फर्किसकेका छन् भने आठ जना अझै फरार रहेको दार्चुला कारागार दार्चुलाका प्रमुख सरिता चन्दले बताउनुभयो ।
जिल्ला कारागार दार्चुलाबाट भागेका ६० जना, कागाराबाट नभागेका छ जना, अन्य कारागारबाट भागेर उपस्थित भएका तीन जना र दुई जना थुनुवा गरि अहिले जिल्ला कारागारमा ७१ जना कैदीबन्दी रहेको उहाँले बताउनुभयो ।
दार्चुला कारागारबाट भागेका तीन जना कैदी अन्य कारागारको नियन्त्रणमा रहेका छन् । फरार आठ जनाको पनि खोजी कार्य जारी रहेको दार्चुला प्रहरीले जनाएको छ ।
यस्तै बैतडी कारागारबाट भागेका दुई जना कैदीबन्दी अझै फरार रहेका छन् । जेनजी प्रदर्शनको क्रममा गएको भदौ २४ गते बैतडी कारागारबाट भागेका ६० जना फर्किसकेका छन् भने दुई जना अझै फरार रहेका छन् ।
कारागारको बन्दीगृहबाट ५४ जना कैदीबन्दी र आठ जना थुनुवा भागेका थिए । ती मध्ये ५२ जना कैदीबन्दी र आठ जना थुनुवा कारागार फर्किसकेका कारागार कार्यालय बैतडीकी प्रमुख धारा भण्डारीले बताउनुभयो । फरार रहेका दुई जना कैदीबन्दीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
फरार कैदीहरुको हुलियासहित सबै ठाउँमा जानकारी पठाइसकेको भएपनि अहिलेसम्म फेला पार्न नसकिएको बताइएको छ ।





प्रतिक्रिया