दार्चुला । दार्चुलामा चाडपर्व लक्षित सुरक्षा योजना लागू गरिएको छ । दशैँ, तिहारलगायत प्रमुख चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय दार्चुलाले विशेष सुरक्षा योजना लागू गरेको हो ।
चाडपर्वको समयमा बढ्न सक्ने आपराधिक गतिविधि, चोरी, लुटपाट तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाभर ४३० जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो ।
नागरिकलाई सुरक्षित वातावरणमा चाडपर्व मनाउन सुनिश्चित गर्न विषेश सुरक्षा योजना लागू गरिएको उहाँले जानकारी दिनुभयो । त्रिदेशिय सिमानाका जोडिएको दार्चुलामा आपराधिक गतिविधिको जोखिम उच्च हुने हुदाँ सुरक्षा योजना विशेष तवरले कार्यान्वयनमा ल्याइएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार कालोबजारी, म्याद गुज्रेका सामग्रीको बिक्री वितरण नियन्त्रण गर्न बजार अनुगमन टोली परिचालन हुनेछ, भने यात्रुलाई सहज बनाउन यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला भित्र सादा पोसाकका प्रहरीहरूले सूचना संकलन गरी शान्ति–सुरक्षा कायम राखिने उहाँले जानकारी दिनुभयो ।
सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, महत्वपूर्ण प्रतिष्ठान र बजार क्षेत्रमा गस्ती गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । बजार अनुगमन, सभा, जुलुस वा जिल्ला भित्र हनु सक्ने अवान्छीत गतिविधि नियन्त्रणका लागि पनि प्रहरी तत्पर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।





प्रतिक्रिया