दार्चुलाको महेन्द्र मावि खलंगा र मालिकार्जुन मावि धाप देशभरिकै उत्कृष्ट विद्यालयको सूचीमा

दार्चुला । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशभरका ६० जिल्लाका ४ हजार ८६७ वटा विद्यालयहरूको कार्यसम्पादन परीक्षण गर्दा उच्च अंक प्राप्त विद्यालयहरू मध्ये दार्चुलाका दुई वटा विद्यालय समेटिएका छन्। दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ मा रहेको महेन्द्र नमुना मावि खलंगा र वडा नम्बर ७ मा रहेको मालिकार्जुन मावि धाप देशभरिकै उत्कृष्ट विद्यालयको सूचीमा पर्न सफल भएका हुन् ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले हरेक प्रदेशबाट विभिन्न सूचकको आधारमा सर्वोच्च अंक ल्याउने तीन/तीन वटा विद्यालय गरी जम्मा २१ वटा विद्यालयहरू छनोट गरेको थियो। जसमा दार्चुलाको महेन्द्र नमुना मावि खलंगाले ८८ अंक प्राप्त गर्दै सातौं स्थान प्राप्त गरेको छ भने मालिकार्जुन मावि धापले ८२.८ अंक प्राप्त गर्दै तेह्रौं स्थान प्राप्त गरेको छ। असल अभ्यास गर्ने देशभरका उत्कृष्ट विद्यालयहरूमध्ये रूपन्देहीको कालिका मानवज्ञान मावि बुटवल ९३.५ अंक प्राप्त गर्दै प्रथम भएको छ। यस्तै कास्कीको बिन्दाबासीनी मावि ९३.३ अंक प्राप्त गर्दै द्वितीय र भक्तपुरको श्रीपद्म मावि ९२.९ अंक प्राप्त गर्दै तृतीय भएको छ।

देशभरिकै उत्कृष्ट विद्यालयको रूपमा छनोट भएका विद्यालयहरूको भौतिक पूर्वाधार, शिक्षण सिकाइ प्रक्रिया, विद्यार्थीहरूको सिकाइ उपलब्धि स्तर तथा विद्यालयको समग्र व्यवस्थापकीय गतिविधिको स्थलगत अवलोकन समेत गरी विभिन्न १६ वटा सूचकका आधारमा विद्यालयहरूको उत्कृष्टता निर्धारण गरिएको बताइएको छ। गुणस्तर परीक्षण केन्द्रको शैक्षिक सँगालोमा २१ वटै विद्यालयहरूले मूल्याङ्कनका हरेक बुँदामा प्राप्त गरेको अंकसँगै तिनीहरूले अपनाएका राम्रा अभ्यास र विशिष्टताहरू पनि संक्षेपमा उल्लेख गरिएको छ।

महेन्द्र नमुना मावि खलंगा र मालिकार्जुन मावि धाप परिवारले उत्कृष्ट विद्यालयहरूको सूचीमा परेपछि खुसी व्यक्त गर्दै सहयोगी सबैलाई धन्यवाद ज्ञापन सहित आगामी दिनहरूमा पनि शिक्षाको गुणस्तर वृद्धि र उत्कृष्टता हासिल गर्ने यात्रामा अझ प्रेरित हुँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?