ट्रम्पको चीनसँग व्यापार युद्ध, १३० प्रतिशत भन्सार लगाउने घोषणा, विश्व अर्थतन्त्रका लागि चुनौती

दार्चुला । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आउने सामानमा थप १०० प्रतिशत भन्सार लगाउने घोषणा गर्नुभएको छ । आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर ट्रम्पले चीनमाथि यसअघि लगाइँदै आएको ३० प्रतिशत भन्सारमा थप सय प्रतिशत बढाउने घोषणा गर्नुभएको हो ।

योसँगै चीनबाट अमेरिका आयात हुने सामानमा अब १३० प्रतिशत भन्सार लाग्ने भएको छ। ट्रम्पले बढाइएको भन्सार नोभेम्बर १ देखि लागू हुने बताएका छन्।

‘अब चीनमाथि उनीहरूले अहिले तिरिरहेको भन्सारबाहेक थप सय प्रतिशत भन्सार लगाइनेछ,’ ट्रम्पले लेख्नुभएको छ, ‘नोभेम्बर १ देखि हामी सबै प्रकारका महत्वपूर्ण सफ्टवेयरहरूमा निर्यात नियन्त्रण पनि लागू गर्नेछौँ,’ उहाँले भन्नुभयो । ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु भएलगत्तै चीनसँग व्यापार युद्ध गर्नुभएको थियो ।

त्यतिबेला अमेरिकाले चीनमाथि लगाएको १४५ प्रतिशतसम्म भन्सार लगाएको थियो। ट्रम्पसँगको व्यापार युद्धमा नझुकेको चीनले त्यतिबेला अमेरिकामाथि पनि १२५ प्रतिशत जबाफी भन्सार लगाएको थियो। चीन झुक्दै नझुकेपछि स्वीटजरल्याण्डमा दुई देशबीच वार्ता भई ११५ प्रतिशत बिन्दुले भन्सार घटाउने सहमति गरेका थिए।

यसबीच ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच दक्षिण कोरियामा अक्टोबरको अन्त्यमा हुने एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन फोरमको शिखर सम्मेलनमा भेट्ने तय भएको छ। सो भेटअघि चीनले दुर्लभ खनिज पदार्थको निर्यातमा फेरि कडाइ गरेपछि ट्रम्पले पुनः चीनसँग व्यापार युद्ध सुरू गरेको भनेर अमरिकी टेलिभिजन नेटवर्क सिएनएनले लेखेको छ।

सुरूमा दुर्लभ खनिज पदार्थको निर्यातमा मात्रै चीनले रोक लगाएको थियो। अहिले भने केही चिनियाँ दुर्लभ खनिज पदार्थ प्रयोग गरेर अरू देशमा बनाएको सामान निर्यात गर्नका लागि पनि चीनको वाणिज्य मन्त्रालयसँग स्वीकृति लिनु पर्ने नियम ल्याएको छ। चीनको वाणिज्य मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै त्यस्तो घोषणा गरेको थियो। सो विज्ञप्तिले चीनको राष्ट्रिय सुरक्षा र हितको रक्षाका लागि चिनियाँ दुर्लभ खनिज पदार्थ प्रयोग गरेर बनाएको सामान निर्यात गर्न मन्त्रालयबाट निर्यात इजाजतपत्र प्राप्त गर्नुपर्ने भनेको छ।

चीनले नयाँ प्रतिबन्ध कसरी लागू गर्ने योजना बनाएको छ भन्ने अझै स्पष्ट छैन । तर नयाँ चिनियाँ प्रतिबन्ध यसअघि अमेरिकाले चिनियाँ कम्पनीहरूलाई केही उच्च गुणस्तरका चिप्स र ती चिप्स बनाउने उपकरणको खरिद गर्नबाट रोक्नका लगाएको प्रतिबन्धसँग मिल्दोजुल्दो भएको भनेर ब्लुमबर्गले जनाएको छ।

केही महिनाअघि सिकागोस्थित फोर्ड मोटर कम्पनीको कारखानामा दुर्लभ खनिज प्रयोग गरेर बनाइने चुम्बक अभावमा काम रोकिएको थियो। अमेरिकामा रहेका अरू मोटर कम्पनीको कारखानामा पनि काम रोकिने खतरा भएपछि ट्रम्पले पहल गरेर जुन ५ मा चिनियाँ राष्ट्रपति सीसँग ९० मिनेट टेलिफोन कुराकानी भएको थियो। त्यसपछि कैयौं चरणको वार्तापछि दुई देश सहमति नजिक पुगेका छन् भने ट्रम्पले लगातार सीसँग भेट्न प्रयास गरिरहेका छन्।

यस्तोमा दक्षिण कोरियामा ट्रम्प र सीबीच भेट हुनु अघि चीनले दुर्लभ खनिज पदार्थको निर्यातमा फेरि कडाइ गरेको हो। व्यापार सम्झौताका लागि मोलमोलाइ गर्नका लागि चीनले यस्तो कदम चालेको हुन सक्छ। पहिले नै लागू भइसकेको ३० प्रतिशत भन्सार शुल्कमा थप गर्दै उनले नोभेम्बर १ देखि वा त्यसअघि नै नयाँ शुल्क लागू हुने बताइएको छ । यो कदमले महिनौंयता चलिरहेको अमेरिका–चीन व्यापारिक युद्धविरामलाई अन्त्य गर्दै तनाव पुनः उत्कर्षमा पुर्‍याएको छ।

विश्लेषकहरूका अनुसार ट्रम्पको ‘मनलाग्दी भन्सार नीति’ले अमेरिकी अर्थतन्त्रमा ठूलो जोखिम ल्याएको छ। उहाँले चाहेको बेलामा भन्सार बढाउने अधिकारको सीमाबारे अमेरिकी सर्वोच्च अदालतले अर्को महिनामा निर्णय दिनेछ। चिनियाँ राष्ट्रपति सी चिनफिङ भने यस्ता कानुनी सीमाबाट मुक्त हुनुहुन्छ। अहिलेका संकेतले स्पष्ट गर्छ—दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्ध फेरि पनि विश्व अर्थतन्त्रका लागि ठूलो चुनौती बन्ने छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?