लोक सेवा आयोगले लामो समयपछि संघीय संसद, निजामति सेवा र स्वास्थ्य सेवातर्फ सहसचिव तथा उपसचिव पदका लागि आवेदन खुला गरेको छ।
राजपत्राङ्कित प्रथम र द्वीतीय श्रेणी (प्राविधिक/अप्राविधिक), स्वास्थ्य सेवातर्फ नवौं र एघारौं तहका पदका लागि बुधबार आयोगले विज्ञापन खुलाएको हो। एक सय ८० भन्दा बढी सहसचिव र चार सय ५० भन्दा बढी उपसचिव पदमा आयोगले आवेदन मागेको छ।
अधिकांश कोटा बढुवाबाट पदपुर्ति हुने खालका छन् भने खुलामा थौरैमात्रै सिट छन्। कोरोनाभाइरस महामारीपछि गत चैतदेखि आयोगले आवेदन खुला गरेको थिएन।
पहिलो चरणका परीक्षा दिएकाहरूको दोस्रो चरणका परीक्षा पनि महामारीले स्थगित थियो। आयोगले आज खुलाएको विज्ञापनअनुसार परीक्षाका लागि कात्तिक १८ गतेसम्म फारम भरिसक्नु पर्नेछ।
आयोगको वेवसाइट https://psc.gov.np/ मा गएर अनलाइनबाटै आवेदन दिन सकिनेछ। दरखास्त दस्तुर राप पहिलो श्रेणी र स्वास्थ्यतर्फ एघारौं तहका लागि एक हजार पाँच सय र राप द्वीतीय श्रेणी/नवौं तहका लागि एक हजार दुई सय रुपैयाँ बुझाउनु पर्ने आयोगको भनाइ छ।
परीक्षा मंसिरदेखि सुरू हुनेछन्। आयोगले २०७७ कात्तिक १८ गतेसम्म २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिकले फारम भर्न सक्ने बताएको छ। तर स्थायी निजामति कर्मचारीका हकमा भने उमेरहद लागू छैन। आयोगले कोरोना महामारीकै बीच आवेदन खुला गरेपछि यसको आलोचना भइरहेको छ। आयोगले हालै ‘संक्रमणको विषेश अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७’ ल्याएको छ।
उक्त मापदण्डमा कोरोना संक्रमणकै अवस्थामा उम्मेद्वार (परीक्षार्थी) परीक्षामा सहभागी हुन पाउने छैनन्। यो मापदण्डले परीक्षामा सहभागी हुन पाउने मानव अधिकार हनन् हुने भन्दै आयोगको आलोचना भइरहेको हो। उक्त मापदण्ड सच्याएर कोरोना संक्रमण भइरहेका अवस्थाका उम्मेदवारले पनि परीक्षा दिन पाउने बाटो खुला गर्न विद्यार्थीलगायतले माग गरिरहेका छन्।





प्रतिक्रिया