दार्चुला । जेन–जी आन्दोलनको क्रममा दार्चुला घर भई प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा पक्राउ परेका दुई जनाविरुद्ध मुद्दा दर्ता भएको छ। प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।
जसमा काभ्रेको रोशी गाउँपालिका–९ राजवास घर भएका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ बतासेका २१ वर्षीय सोनाम तामाङ भनिने बुद्धिलाल थिङलाई प्रतिवादी बनाइएको छ । आफ्नो भतिजाको हत्या गरेको भन्दै काका इश्वर सिंह थापाले प्रहरीमा जाहेरी दिनुभएको थियो । त्यसपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो ।
आन्दोलनको क्रममा दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ घर भएका प्रहरी जवान थापालाई निर्घात कुटपिट गरि हत्या गरिएको थियो। पक्राउ परेका दुबै जना विरुद्ध ज्यान मार्ने कसुर र आपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता गरिएको छ । जसअनुसार ज्यान कसुरमा मुलुकी फौजदारी अपराध संहिताको दफा १७७ अन्तर्गतको कसुरमा जन्मकैदको सजाय मागदाबी गरिएको छ ।
संहिताकै दफा २८५ अनुसार आपराधिक उपद्रव गर्न नहुने कसुरमा पनि जन्मकैदसम्म हुनसक्ने सजाय मागदाबी गरिएको छ । जिल्ला अदालतले थुनछेक बहसपछि उनीहरुलाई सामान्य तारेख तथा धरौटीमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार पठाउने मध्ये एक आदेश गर्ने बताइएको छ।





प्रतिक्रिया