दार्चुला । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लडलाइटका छ वटै टावर ठड्याइएको छ । फ्लडलाइटको निर्माणव्यवसायीले हिजो एक दिनमै दुईवटा पोल उठाएपछि छ वटै पोल ठड्याउने काम सम्पन्न भएको छ ।
रङ्गशालामा ४५ मिटर तथा ६० मिटर अग्ला छ वटा ३०÷३० टनका हाइमास्ट लाइट जडान गरिएको हो । पोल नम्बर १, ४, ५ र ६ मा फ्लडलाइट आंशिक रूपमा जडान भइसकेको छ । पोल ठड्याइसकिएकाले दुईवटामा अब लाइट राख्ने काम शुरु हुने आयोजना प्रमुख चक्रवर्ती कण्ठले बताउनुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले गएको असोज २३ गते निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको अनुगमन गर्नुभएको थियो । दुवै निर्माण व्यवसायीले नेपाल प्रिमियर लिग (एनपीएल) भन्दा अगावै प्यारापिट र फ्लडलाइट जडान सक्ने प्रतिबद्धता जनाएका थिए । प्यारापिटको निर्माण व्यवसायीले काम सम्पन्न गरिसकेको छ । एनपीएल आउँदो मङ्सिर १ गतेदेखि शुरु हुँदैछ ।
सरकारले गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गर्दै रङ्गशाला विस्तारका लागि दोस्रो चरणको निर्माण शुरु गर्ने निर्णय गरिसकेको छ । मन्त्रिपरिषद्को असोज ३० गतेको बैठकले शहरी विकास मन्त्रालयको प्रस्तावमा रङ्गशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको छ । गुरुयोजना बमोजिम रङ्गशाला निर्माणका लागि झन्डै १० अर्ब रुपैयाँ बजेट सुनिश्चित गर्दै दोस्रो चरणको निर्माण अगाडि बढाउने निर्णय गरेको थियो ।





प्रतिक्रिया