दार्चुला । जेन–जी आन्दोलनको क्रममा दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ घर भई प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा थप पाँच जनालाई पक्राउ गरिएको छ । प्रहरीले गरेको अनुसन्धानका आधारमा दुई नाबालकसहित पाँच जनालाई पक्राउ गरिएको मृतक थापाका आफन्त इश्वर सिंह थापाले बताउनुभयो ।
पछिल्लो समय पक्राउ पर्नेमा तनहुँ जिल्लाको थुम्का गाउँपालिका वडा नम्बर ३ घर भइ हाल काठमाण्डौँको बुढानिलकण्ठ १० कपन बस्ने २१ वर्षीय राजिव गुरुङ, गोरखाको अजिरकोट गाउँपालिका-४ घर भइ हाल काठमाण्डौँ महानगरपालिका-४ धुम्बाराही बस्ने २१ वर्षीय सोम भन्ने तथास्तु गुरुङ, पर्साको ठोरी गाउँपालिका-३ घर भइ काठमाण्डौँ महानगरपालिका-४ धुम्बाराही बस्ने २० वर्षीय युनिक श्रेष्ठ र दुई जना १६ वर्षीय नाबालक रहेको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले काभ्रेको रोशी गाउँपालिका–९ राजवास घर भएका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ बतासेका २१ वर्षीय सोनाम तामाङ भनिने बुद्धिलाल थिङलाई पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
आफ्नो भतिजाको हत्या गरेको भन्दै काका इश्वर थापाले प्रहरीमा जाहेरी दिनुभएको थियो । त्यसपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । आन्दोलनको क्रममा प्रहरी जवान थापालाई निर्घात कुटपिट गरि हत्या गरिएको थियो। गत महिना पक्राउ परेका दुबै जना विरुद्ध ज्यान मार्ने कसुर र आपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता गरिएको छ । जसअनुसार ज्यान कसुरमा मुलुकी फौजदारी अपराध संहिताको दफा १७७ अन्तर्गतको कसुरमा जन्मकैदको सजाय मागदाबी गरिएको छ । हाल पक्राउ परेका पाँचै जनामाथि अनुसन्धान भइरहेको छ ।
मुलुकी फौजदारी अपराध संहिताकै दफा २८५ अनुसार आपराधिक उपद्रव गर्न नहुने कसुरमा पनि जन्मकैदसम्म हुनसक्ने सजाय मागदाबी गरिएको छ । जिल्ला अदालतले थुनछेक बहसपछि दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरिसकेको र अरुको म्याद थप गरी अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।





प्रतिक्रिया