दार्चुला । नेपालको दार्चुला जिल्लाको उत्तर–पश्चिमी क्षेत्रमा आइतवार भारतका सात सय जना धावकहरुको सहभागीतामा अल्ट्रा–म्याराथनको आयोजना गरिएको छ। नेपालको अतिक्रमित भूमि उच्चहिमाली क्षेत्रमा अल्ट्रा–म्याराथनको आयोजना गर्दै भारतका २२ राज्य र केही विदेशीसमेत गरी सात सयभन्दा बढी सहभागीहरूले भाग लिएर नयाँ रेकर्ड कायम गरिएको छ।
भारतको उत्तराखण्ड राज्य स्थापनाको २५औं वर्षिकोत्सवमा पन्ध्र हजार फिटको उचाइमा सरकारले अल्ट्रा म्याराथनको आयोजना गरेको इन्डो तिब्बतियन बोर्डर पुलिस (आइटिबिपी) का महानिरीक्षक (आइजी) सञ्जय गुञ्ज्यालले जानकारी दिनुभयो। धार्मिक तथा साँस्कृतिक महत्वको ओम पर्वतलाइ परिक्रमा गर्नेगरी ६० किलोमिटरको अल्ट्रा म्याराथनको आयोजना गरिएको हो।
उक्त कार्यक्रममा भारत सरकारका सडक परिवहन राज्यमन्त्री अजय टमटा प्रमुख अतिथिका रुपमा सहभागी थिए। गुन्जीमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री टमटाले यसलाई जाडो सिजनको पर्यटनका लागि भारत सरकारको सपना साकार पार्ने प्रयास भएको बताउनुभयो। माइनस १९ डिग्रीको तापक्रममा भारतीय सेना र आइटिबिपीले पर्यटनका लागि सम्पूर्ण तयारी गरेको र उपयुक्त वातावरण निर्माण गरिरहेको बताइएको छ। यो क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि आदी कैलास परिक्रमा र कार्यक्रम आयोजना गरिएको उनीहरुले बताएका छन्।
मध्य प्रदेशबाट आएका राजेश पोरवाल ६० किलोमिटरको अल्ट्रा रनिङमा सहभागी हुनुभएको थियो। ६० बर्ष माथिको उमेर समूहमा दौडिएका उहाँले दक्षिण अफ्रिका र मलेसियामा म्याराथनको अनुभव रहेको बताउँदै आफू २००७ मा कैलास मानसरोवर जान आएको बेलाको भन्दा अहिले धेरै पूर्वाधार बनिसकेको बताउनुभयो। उहाँले पर्यटनको ठूलो सम्भावना बोकेको क्षेत्र रहेको दाबी गर्नुभयो।
नेपालको भूमि अतिक्रमण गरेर आफ्नो दाबी गर्दै आएको भारतले पौराणिक र आध्यात्मिक सम्पदा स्थल आदि कैलाश क्षेत्रमा अल्ट्रा–म्याराथन आयोजनाले यस क्षेत्रको पर्यटनलाई एक्सपोज गर्ने योजना बनाएको छ। उच्च भूभाग, कठिन मौसम र चुनौतीपूर्ण हिमालयन क्षेत्रको म्याराथनले सहभागीहरूले उल्लेखनीय साहस र फिटनेस प्रदर्शन गर्ने मौका पाएको बताएका छन्।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले आदि कैलाश क्षेत्रमा पहिलो हाइ अल्टिच्युडको अल्ट्रा–रन सञ्चालनमा सहभागीहरू, आयोजकहरू र स्थानीय नागरिकहरूलाई बधाई दिँदै यसलाई उत्तराखण्डको लागि गर्वको क्षण भएको बताउनुभयो। आदि कैलाशको आध्यात्मिक तीर्थस्थलमा आयोजित ऐतिहासिक अल्ट्रा दौडले साहस र समर्पणको उदाहरण मात्र होइन, सीमावर्ती क्षेत्रमा साहसिक पर्यटन र खेलकुद संस्कृतिलाई पनि नयाँ दिशा दिन्छ’ मुख्यमन्त्री धामीले भन्नुभयो, सीमावर्ती क्षेत्रको विकास हाम्रो प्राथमिकता छ।’ पिथौरागढ जिल्लाका जिल्ला मजिस्ट्रेट (डिएम) आशिषकुमार भटगानी, धारचुलाका एसडिएम जितेन्द्र बर्मा लगायतका अधिकारीसमेत त्यहाँ पुग्नुभएको थियो।
उच्चहिमाली क्षेत्रमा ६० किलोमिटरको दुरी ४ घण्टा ४४ मिनेटमा पार गर्दै दिगम्बर सिंहले दौड जित्नुभएको छ। महिलातर्फ पौडी गडवालकी मिनाक्षी नेगीले ५ घण्टा ४३ मिनेटमा ६० किलोमिटर पूरा गर्नुभएको थियो ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले लिपुलेक क्षेत्रमा आयोजना भएको कार्यक्रम बारे प्राप्त जानकारी समयमै गृह मन्त्रालय र मन्त्रालयमार्फत सरकारलाई गराएको बताउनुभयो। सरकारले लिपुलेक क्षेत्रमा कार्यक्रम हुने जानकारी पाएर पनि कुनै प्रतिक्रिया जनाएको छैन्। अनौपचारिक रुपमा थाहा भएअनुसार भारतको पर्यटन विभागले म्याराथन आयोजना गरेको र त्यसको तयारी भइरहेको सूचना केही दिन अघि नै थाहा पाएर तालुक निकायमा रिपोर्टिङ गरिएको जानकारी दिनुभयो। थप समन्वय नभएको उहाँको भनाइ छ।





प्रतिक्रिया