समाज सुधारका लागि युवा एकता अभियान लेकम १ सर्मोलीले मदिरा सेवन गरेर होहल्ला गर्ने दुई जनालाई कार्वाही गरेको छ । लेकम १ कै दिनेश बोहरा र सम्सेर बोहरालाई कार्वाही गरिएको अभियानका सदस्य दिपक बिष्टले जानकारी दिनुभयो ।
दुबै जनालाई एक÷एक हजार रुपैँया जरिवाना गर्नुका साथै सार्वजनिक रुपमा माफि माग्न लगाइएको अभियानले जनाइएको छ । मदिरा निशेधित क्षेत्रमा मदिरा सेवन गरेर होहल्ला गरेको र केहि व्याक्तिलाई गालिगलौच समेत गरिएको भन्दै उनिहरुलाई कार्वाही गरिएको बिष्टले बताउनुभयो । अगामी दिनमा यस्ता गतिविधि दोहोरिएको पाइएमा कडा कार्वाही गरिने अभियानले जनाएको छ ।
पछिल्लो समय समाज सुधारका लागि युवा एकता अभियानले लेकम गाउँपालिका वडा नम्बर १ मा मदिरा सेवन तथा ओसारपसारका साथै बिकृति नियन्त्रणमा सक्रियता बढाएको छ । विभिन्न टोलहरुमा उपसमिति बनाएर गलत काम गर्नेलाई कार्वाही गर्न थालिएको बिष्टले बताउनुभयो ।
यसअघि समेत अभियानले लेकम गाउँपालिका वडा नम्बर २ का आनसिह धामीको मदिरा बरामद गरेर प्रहरी र जनप्रतिनिधिको रहोबरमा नष्ट गरेर जरिवाना गर्न लगाएको थियो । त्यतिबेला मदिरा ओसारपसार गर्ने धामीलाई २५ सय रुपैँया जरिवाना तिराएर दोस्रो पटक मदिरा ओसारपसार तथा बेचबिखनमा नगर्ने सर्तमा छोडिएको थियो ।
लेकम गाउँपालिका मदिरा निशेधित क्षेत्र भएपनि गाउँ गाउँमा मदिरा ओसारपसार तथा बेचबिखन कार्य भइरहेको छ । प्रतेक वडाहरुमा अवैधानिक रुपमा लुकीछिपि मदिराको सेवन, ओसारपसार तथा बेचबिखच भइरहेको गुनासो आउने गरेको छ । स्वय. केहि प्रहरी र जनप्रतिनिधि समेत मदिरा सेवन गरेको अवस्थामा भेटिने गरेको युवाहरु बताउछन।
मदिरा सेवनबाट व्याक्तिगत स्वास्थ्यका साथै परिवारिक र सामाजिक जीवनमा समेत समस्याहरु उत्पन्न भइरहेको भन्दै मदिराको सेवन, ओसरपसार र बेचबिखन नगर्न, नगराउन लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशीले अनुरोध गर्नुभयो । मदिरा नियन्त्रणमा सक्रिय युवाहरुलाई धन्यबाद व्यक्त गर्दै उहाँले यो अभियान पालिकाभरी सञ्चालन भए सामाजमा देखा परेका धेरै समस्या, बिकृति, बिसंगति र हिसांका घटनाहरुमा कमी आउने बताउनुभयो ।
मदिराको कारण असमाजिक गतिविधि र हिसांका घटनाहरु बढ्दै गएकोले मदिरा रोकथाम तथा नियन्त्रणको अभियानमा युवाहरुले सक्रियता देखाउनु आवश्यक रहेको छ । यस्तो कार्य गर्ने गराउनेलाई कार्वाही गर्ने र समाजमा फैलिएका बिकृति विसंगती नियन्त्रण गर्ने उद्धेश्यले समाज सुधारका लागि युवा एकता समाजले काम गरिरहेको समाजका सदस्य बिष्टले बताउनुभयो ।




