दार्चुला । नेपाल प्रहरीको ३३ औँ महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त हुनुभएको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको ठाडो प्रस्तावमा कार्की कात्तिक २७ गतेदेखि लागु हुने गरी महानिरीक्षक नियुक्त हुनुभएको हो ।
उहाँ महानिरीक्षक नियुक्तिका पहिलो दाबेदार हुनुहुन्थ्यो । २०५४ चैत १८ मा नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) दर्जामा भर्ना भएका कार्की २०२९ साउन १५ मा गुल्मीमा जन्मिएको हो।
उपत्यका प्रहरी कार्यालयको प्रमुखका रूपमा कार्यरत कार्की जेनजी आन्दोलनको बहानामा महानिरीक्षक नियुक्त नहुने भनी चर्चामा थिए । तर, सरकारले पहिलो नम्बरको उहाँको वरीयतामाथि न्याय गर्दै नियुक्त गर्ने निर्णय गरेको छ ।
कार्कीले प्रहरी सेवाका क्रममा लुम्बिनी प्रदेश, काठमाडौं उपत्यकासहित काठमाडौं, कास्की र कपिलवस्तु जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको छ ।
उहाँले इन्स्पेक्टर दर्जामा इलाका प्रहरी कार्यालय काकडभित्ता, झापा र तनहुँको आबुखैरेनीमा कार्यालय प्रमुखको जिम्मेवारी निभाउनुभएको थियो ।
डीएसपी दर्जामा इलाका प्रहरी कार्यालय, बुटवल र काठमाडौंस्थित प्रहरी वृत्त, नयाँ बानेश्वरको जिम्मेवारी बहन गर्नुभयो । उपत्यका प्रहरी प्रमुखको जिम्मेवारीमा जानुअघि प्रधान कार्यालयस्थित मानव स्रोत विकास विभागका प्रमुख रहनुभएको थियो ।





प्रतिक्रिया