दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर २ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय ठिङमा लागू औषध दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ। विद्यालयले सञ्चालन गर्दै आएको शुक्रबारे विशेष कार्यक्रमअन्तर्गत आज विद्यालय परिसरमै नाटक मञ्चन गरिएको विद्यालयका शिक्षक बैकुण्ठ देव अवस्थीले जानकारी दिनुभयो।
विद्यालय उमेरका बालबालिकालाई लागू औषधको सेवन तथा प्रयोगतर्फ आकर्षित हुन नदिन तथा दुर्व्यसनबाट जोगिन प्रेरित गर्न विद्यार्थी स्वयंले नाटक मञ्चन गरेको अवस्थीले बताउनुभयो। नाटकमार्फत लागू औषध सेवनका कारण देखिने सामाजिक, स्वास्थ्य तथा पारिवारिक समस्या प्रस्तुत गरिएसँगै विद्यार्थीलाई जोखिमबाट टाढा रहन सन्देश दिइएको उहाँले जानकारी दिनुभयो।
विद्यार्थीलाई सक्रिय रूपमा सहभागी गराई कथामार्फत सिकाइ गरिएकाले उनीहरूमा दीर्घकालीन प्रभाव पर्ने र लागू औषध सेवनले निम्त्याउने सामाजिक, मानसिक र शारीरिक क्षति सहजै बुझ्न सकिने भएकाले नाटक प्रभावकारी भएको विद्यालयले जनाएको छ। नाटक प्रदर्शनले समुदायमा पनि सचेतना फैलिनुका साथै अभिभावकहरू सतर्क हुने अपेक्षा गरिएको अवस्थीले बताउनुभयो।
नाटकमा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय सरोकारवालाको सहभागिता थियो।
कार्यक्रमको संयोजन शिक्षक बैकुण्ठ देव अवस्थीले गर्नुभएको थियो भने नाटकको लेखन शिक्षक सागर बिक्रम सिंहले गर्नुभएको थियो।




