बझाङको थलारा गाउँपालिका–३ देवलबाँझकी १४ वर्षीया बलात्कृत बालिकाका बुबा छुवाछूतको आरोपमा बुधबार कारागार चलान भएका छन् ।
जातीय छुवाछूत गरेको भन्दै उजुरी परेपछि प्रहरी हिरासतमा रहेका उनी अदालतले तोकेको धरौटी रकम बुझाउन नसक्दा कारागार चलान भएका हुन् । त्यही घटनामा बालिकाका काका धरौटी तिरेर छुटेका छन् ।
बलात्कार भएकी भनिएकी बालिकाका बुबालाई जिल्ला अदालत बझाङले ५० हजार र काकालाई २५ हजार धरौटी मागेको थियो ।
थलारा गाउँपालिकाकी १४ वर्षीया बालिकालाई गत भदौ १६ गते बलात्कार गरेको आरोपमा दलित समुदायका स्थानीय २६ वर्षीय दिनेश पार्कीलाई भदौ १८ गते प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पार्कीले अदालतसमक्ष आफूमाथि लागेको आरोप स्वीकार गरिसकेका छन् ।
जिल्ला अदालत बझाङको आदेशमा उनलाई पुर्पक्षका लागि कारागार पठाइएको छ ।
यसै घटनाका क्रममा पीडित बालिकाका बुबा र काकाविरुद्ध पनि दलित पक्षले छुवाछूत गरेको भन्दै उजुरी दिएको थियो ।





प्रतिक्रिया