दार्चुलाको नौगाड गाउँपालिका तरकारीमा आत्मनिर्भर बनेको छ । गाउँपालिकाले वडा नम्बर २ को दल्लेख, सुण्डमुण्डु र वडा नम्बर ५ को बसर गाउँलाई तरकारी पकेट क्षेत्रको रुपमा विस्तार गरेर बिउ र कृषि सामाग्रीमा अनुदान दिएपछि कृषकहरुले व्यवसायिक तरकारी खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।
गत आर्थिक वर्षमा नौगाड गाउँपालिकालाई तरकारी करिडोर बनाउने उद्धेश्यले पुर्वाधार विकास कार्यक्रमको ५० लाख बजेटबाट ३५० घरधुरीलाई प्लाष्टिक घरहरु वितरण गरिएको छ । कृषकहरुले प्लाष्टिक घरका साथै थोपा सिचाई, झोलमोल ड्रम, स्प्रे, हजारी लगायतका कृषि सामाग्री निःशुल्क पाएपछि घरघरमा तरकारी उत्पादन थालेको कृषि शाखा संयोजक मुकुन्द सिह ठगुन्नाले जानकारी दिनुभयो । झण्डै २८ सय परिवार कृषि पेशामा आवद्ध रहेको नौगाड गाउँपालिकामा ७५ जनाले व्यवसायिक तरकारी खेती गरिरहेका छन् ।
तरकारी बिक्रि गरेर एक सिजनमा दुई लाखसम्म आम्दानी हुन थालेको नौगाड–२ दल्लेखका कृषक धनसिह सितोलीले बताउनुभयो । गोलभेडा, प्याज, आलु, काक्रा, काउली लगायत मौसमी र बेमौसमी तरकारी बिक्रि गरेर दल्लेख र बसर गाउँका कृषकहरुले एकै सिजनमा लाखौँको आम्दानी गर्न थालेको कृषि शाखा संयोजक ठगुन्नाले बताउनुभयो । नौगाडको मलानमा यो वर्षदेखि ड्रागन फ्रुट खेती पनि शुरु भएको छ । दल्लेखमा कृषकहरुले परीक्षणको रुपमा चार सय बोट किबि रोपेका छन् ।

गाउँपालिकामा खपत हुने भन्दा बढी तरकारी उत्पादन हुन थालेपछि बसर गाउँमा उत्पादन भएको तरकारी होपरिगाड र दल्लेखको तरकारी दार्चुला सदरमुकाम खलंगामा बिक्रि गर्ने गरेको कृषक बिरेन्द्र ठगुन्नाले जानकारी दिनुभयो । गाउँपालिकाले व्यावसायिक तरकारी उत्पादनलाई महत्व दिएर उन्नत जातको तरकारीको बिउ, तालिम र कृषि सामाग्री अनुदान दिन थालेपछि कृषि पेशामा नौगाडवासीको आकर्षण बढ्दै गएको छ ।
तरकारी उत्पादनका लागि उत्तम क्षेत्र मानिएको यो ठाउँमा कृषकहरुलाई तरकारीबाटै आत्मनिर्भर बनाउने गरी योजना अघि सारिएको नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “उपयुक्त हावापानी, माटो र यातायातको समेत व्यवस्था भएकोले यो क्षेत्रलाई तरकारी करिडोरकै रुपमा विकास गरिरहेका छौँ ।” आलु पकेट क्षेत्रको रुपमा परिचित दल्लेखमा आलुको चिस्यान तथा भण्डारण गृह निर्माण गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।
कृषकहरुले मौसमी, बेमौसमी तरकारी उत्पादनमा बृद्धि गरेपछि कृषि ज्ञान केन्द्र दार्चुलाले समेत कृषक पाठशाला सञ्चालन गरेको छ । नौगाड–३ को खुपुलीगाउँमा जगन्नाथ कृषि समुहले कृषक पाठशालामार्फत गोलभेडा, प्याज, काउली, बन्दा, रायोको बिउ उत्पादन थालेको पाठशालाका सहजकर्ता प्रकाशसिह धामीले जानकारी दिनुभयो । जगन्नाथ कृषि समुहले नमुनाकै रुपमा तरकारी उत्पादन गर्न थालेपछि गाउँपालिका र कृषि ज्ञान केन्द्रले समेत प्रोत्साहन गरिरहेको छ ।

मंगलबार र बुधबार सुदूरपश्चिम प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका योजना महाशाखा प्रमुख एबं बरिष्ठ कृषि प्रसार अधिकृत गोकुल प्रसाद प्रसाद बोहरा, कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख प्रकाश कुमार पन्त लगायत कृषि विज्ञहरुको टोलीले नौगाड गाउँपालिकाको तरकारी र ड्रागन फ्रुटको स्थलगत अनुमगन समेत गर्नुभएको छ । अनुगमनपछि विज्ञ टोलीले कृषकहरुले गरेको मेहनतको प्रशंसा गर्दै आवश्यक प्राविधिक सल्लाह समेत दिएको स्थानीय एबं कृषि प्राविधिक प्रकाश सिह धामीले बताउनुभयो ।






