दार्चुला । लेकम गाउँपालिका–१ सर्मोलीका दिपक बिष्टले दार्चुला सदरमुकामबाट म १ ज २९३ नम्बरको जीपमा ऐरिछानासम्म ३७ किलोमिटर दूरीको यात्रा गर्नुभयो । महाकाली लोकमार्ग अन्तरगत पर्ने उक्त सडकमा केहि महिना पहिले एक सय ५० रुपैँया भाडा तिरेर यात्रा गरेका बिष्टबाट पाँच सय रुपैँया भाडा मागेपछि खल्ती रित्याएर भाडा तिर्दै घर फर्किनुभयो ।
दार्चुलाबाट ऐरिछानासम्म यात्रा गरेका कुनै यात्रुबाट चार सय र कुनै कुनै यात्रुबाट पाँच सय रुपैँया भाडा लिएको बिष्टले गुनासो गर्नुभयो । पाँच जना यात्रु बोक्न पाउने उक्त जीपले तेब्बर भाडा असुल गरेर तोकिएको भन्दा दोब्बर यात्रु बोकेको पाइएको छ । पाँच सिटको जीपमा कोचाकोच गरेर अगाडी र बिचको भागमा नौँ जना यात्रु र पछाडी सामान बोक्ने भागमा दुई जना यात्रुलाई बोकेको बिष्टले बताउनुभयो । बढी भाडा लिएको र क्षमता भन्दा बढी यात्रु बोकेको विषयमा प्रहरीले समेत कुनै चासो नराखेको यात्रुको गुनासो छ ।
ऐरिछाना–खलंगा सडकमा मात्र नभइ खलंगादेखि गोकुलेश्वर, मार्मा, नौगाड, दुहुँ लगायत सबै क्षेत्रमा चल्ने छोटो तथा मध्यम दूरीका यातायातका साधनहरुमा व्यवसायीहरुले सिट क्षमता भन्दा बढी यात्रु बोक्ने गरेका छन् । सरकारले तोकेको भाडा दरभन्दा दोब्बरदेखि तेब्बर भाडा असुल्ने र कोरोना भाइरसको स्वास्थ्य मापदण्ड पनि कार्यान्वयन नगरेका छोटो तथा मध्यम दूरीका यातायातका साधनलाई कुनै कारबाही नगरिएको यात्रु जनकराज जोशीले गुनासो गर्नुभयो । कारबाही नहुदा सबैजसो सार्वजनिक यातायातले तोकेको भाडा दरभन्दा बढी भाडा लिएको, सामाजिक दूरी कायम हुनेगरी सिट क्षमताभन्दा आधा यात्रु राख्नुपर्नेमा पूर्ण रूपमा यात्रु राखेको, स्वास्थ्य मापदण्ड पालना नगरेको पाइएको छ ।
यात्रुले भाडा तिरेको कुनै प्रमाण वा टिकट माग्दा यातायात व्यवसायीले दिने गरेका छैनन् । बन्दाबन्दीको समयमा बाध्यताले यात्रुहरुले तोकिएको भन्दा धेरै बढी भाडा तिरेकोमा हाल आएर यातायात व्यवसायीले सोहि भाडा कायम गरेको पाइएको छ । दशैँ, तिहार नजिकिदै गर्दा यातायात व्यवसायीले झन मनपरी भाडा लिने गरेको यात्रुहरु बताउछन् ।
बढी भाडा लिएको औपचारीक गुनासो कसैबाट नआएको र बढी यात्रु बोक्दा यातायात व्यवसायीलाई कारबाही गर्ने गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक पदम बहादुर विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार, दशैँ तिहारलाई लक्षित गरि जिल्ला प्रहरी कार्यालय दार्चुलाले विशेष सुरक्षा योजना लागु गरेको छ । चाँडबाँडका बेला विभिन्न गलत गतिविधिहरु हुने भन्दै जिल्लाभरी शान्ती, सुरक्षा कायम गर्न सुरक्षा योजना कार्यान्वयन गरिएको हो ।
चाडपर्वहरुलाई सभ्य रुपमा मनाउने वतावरण सिर्जना गर्न जिल्ला भरि ३ सय २२ जना प्रहरी परिचालन गरिएको छ । सवारी साधनमा क्षमता भन्दा बढी यात्रु बोक्ने, बढी भाडा लिने र ट्राफिक नियमको उल्लङघन हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै दार्चुला सदरमुकाम खलंगा र गोकुलेश्वर बसपार्कमा प्रहरीको डेल्प डेक्स स्थापना गरिएको छ । सवारी साधनको निगरानीमा ९६ जना प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक बिष्टले बताउनुभयो ।





प्रतिक्रिया