दार्चुला । युएईमा जारी इन्डियन प्रिमियर लिग आईपीएलमा आज २ खेलहरु हुँदैछन् ।
दुवई अन्तर्राष्ट्रिय रंगशालामा हुने पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर र राजस्थान रोयल्स खेल्दैछन् । यो खेल दिउँसो पौने चार बजेदेखि सुरु हुनेछ ।
दोस्रो खेल दिल्ली क्यापिटल्स र चेन्नाई सुपर किंग्सबीच हुनेछ । साँझ पौने ८ बजेदेखि सुरु हुने यो खेल सारजाह क्रिकेट रंगशालामा हुनेछ ।
सुरुआती ८ खेलमा ३ खेलमा मात्र जित हासिल गरेको राजस्थान रोयल्सका लागि प्लेअफको दवाव सुरु भएको छ । बेन स्टोक्सको आगमनपछि केहि सुधारिएको राजस्थानले अपेक्षाकृत नतिजा हासिल गर्न सकिरहेको छैन ।
विराट कोहली नेतृत्वको बैंग्लोर छैटौं जितको खोजीमा हुनेछ । सुरुआत कमजोर भए पनि पछिल्ला खेलहरुमा बैंग्लोरले सन्तुलित प्रदर्शन गरिरहेको छ र उसका कप्तान कोहली उच्च लयमा छन् । धेरै हदसम्म बैंग्लोरको नतिजा उनकै ब्याटिङ प्रदर्शनमा निर्भर हुनेछ ।
मुख्य खेलाडीहरु एकपछि अर्को घाइते भएपछि समस्यामा परेको दिल्लीले प्रदर्शनको एकरुपतालाई कमी आउन भने दिएको छैन । दिल्लीका तीव्र बलरहरुले प्रभावशाली प्रदर्शन गरिरहेका छन् । पछिल्लो खेलमा राजस्थानलाई १ सय ४८ रनमै समेटेर १३ रनको जित दिल्लीका लागि रोमान्चक रह्यो ।
आठौं खेलमा तीन जित हासिल गरेको चेन्नाइले पछिल्लो खेलदेखि आफ्नो उत्कृष्ट ११ भेटेको महशुस गरेको छ । हैदराबादमाथि २० रनको जित हासिल गर्ने क्रममा उसले युव ब्याट्सम्यान साम करनलाई ओपनिङ ल्याएको थियो भने कप्तान महेन्द्र सिंह धोनी पाँचौं नम्बरमा आएका थिए ।





प्रतिक्रिया