दार्चुला । मार्मा गाउँपालिकाको सडक सञ्जालमा जोडिन बाकी तीन वटा वडामा सडक विस्तार गर्ने उद्धेश्यले तपोवन, मुरै, निम्ठा बिनायक सडक निर्माण भइरहेको छ । मार्मा गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ हुदै नौगाड जोड्ने उक्त सडकको आज जिल्ला समन्वय समिति उपप्रमुख कृष्णसिह धामी र मार्मा गाउँपालिका अध्यक्ष जमन सिह धामीले उद्घाटन गरेको मार्मा गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष सुरेन्द्र सिह महताले जानकारी दिनुभयो ।
मार्मा गाउँपालिकाको डिपिआर र सिफारिस अनुसार संघीय सरकार र प्रदेश सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको उक्त सडक निर्माणको जिम्मेवारी चन्द्र, बसन्त ग्वाल्लेख जेभीले पाएको छ । ३९ करोड ५५ लाख बजेट रहेको २८ किलोमिटर लामो तपोवन, मुरै, निम्ठा हुदै विनायक जोड्ने उक्त सडकमा तपोवन स्कुल नजिकैबाट निर्माण कार्य शुरु भएको वडाअध्यक्ष महताले बताउनुभयो ।
सडक सञ्जालमा नजोडिएका गाउँपालिकाको वडा नम्बर ४ को तपोवन, वडा नम्बर ५ को मुरै र वडा नम्बर ६ को निम्ठाको विनायक धारसम्म सडक निर्माण गरिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका वडा नम्बर १, २ र ३ लाई गोकुलेश्वर, गन्ना, विटुले पारिबगर सडकले छोएको छ । दुई वर्षभित्र सबै वडामा सडक विस्तार गर्ने उद्धेश्यले उक्त सडकलाई प्राथमिकताका साथ निर्माण गर्ने पहल भइरहेको मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीले बताउनुभयो ।
उक्त सडक दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिह ठगुन्ना र प्रदेश सभा सदस्यहरु निर्मला जोशी, मानबहादुर धामी र गेल्बुसिह बोहरा लगायतको पहलमा प्राथमिकतामा पार्न सकिएको वडा अध्यक्ष महताको भनाई छ ।

यसैबिच शुक्रबार जिल्ला समन्वय समिति उपप्रमुख कृष्णसिह धामी र मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामी नेतृत्वको टोलीले वडा नम्बर ३ को लटिनाथ, सार्सी, बजाजी, दुनी सडकको समेत अनुगमन निरीक्षण गरेको छ । चालु आर्थिक वर्षमा मार्मा गाउँपालिका र सुदूरपश्चिम प्रदेश सरकारको चार करोड बजेटबाट उक्त सडक निर्माण भइरहेको वडाअध्यक्ष महताले जानकारी दिनुभयो ।
स्थलगत अनुगमनका क्रममा गाउँपालिकाबाट सञ्चालित विभिन्न योजनाहरुको निरीक्षण गर्नुका साथै जनतासंग भेटघाट तथा छलफल समेत गरिएको उहाँले बताउनुभयो ।





