दार्चुला । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टी विभाजन हुन नदिन आफूहरू लागिपर्ने बताउनुभएको छ ।
सोमबार (आज) बिहान नेता डा. शेखर कोईराला पक्षधरहरूको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टी विभाजन हुन लाग्यो र कसरी जोगाउने भन्ने चिन्ता सबैलाई रहेको पनि बडूले बताउनुभयो ।
‘हामी सबैको चिन्ता पार्टी विभाजन नहोस् भन्ने हो । हाम्रो कामले पार्टी विभाजित नहोस् भन्ने हो । महामन्त्रीहरूसँग पनि छलफल गरेर अघि बढ्न सुझाव दिएका हौँ । संस्थापन पक्षलाई पनि र महामन्त्री पक्षधरलाई पनि विभाजनको पक्षमा नजाऔँ भनेका छौं,’ उहाँले भन्नुभयो।
महामन्त्री र संस्थापन पक्षधरहरूसँग छलफल गरेर आफूहरू अघि बढ्ने निर्णयमा पुगेको पनि उहाँले बताउनुभयो।
पार्टीमा हुनुपर्ने सुधार र पुस्तान्तरणबारे पनि आफूहरूले मुद्दा उठाउँदै आएको बताउँदै उहाँले अब पार्टीलाई सुरक्षित राख्न र विवादरहित ढंगले अघि बढ्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
‘पार्टीमा हुनुपर्ने सुधार र पुस्तान्तरणको कुरामा जानुपर्छ भनेर सुझाव दिएका छौँ । अब पार्टीलाई सुरक्षित राख्न र विवादरहित ढंगले अघि बढ्नुपर्ने हुन्छ । शेखर कोइरालाले म दुवै पक्षलाई बोलाएर कुरा गर्छु भन्नुभएको छ । पार्टीलाई विभाजनको जोखिमबाट बचाऔं,’ उहाँले भन्नुभयो।




