दार्चुला । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा (एमाले)की लीला कुमारी भण्डारी र नेपाली काँग्रेसका खम्मबहादुर खाती विजयी हुनुभएको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार महिला समूहबाट एमालेकी भण्डारीले ३ हजार ९ सय ८४ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।
उहाँका प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले १ हजार ६ सय ७६ मत मात्रै प्राप्त गर्नुभयो । यसैगरी, अन्य समूहबाट नेपाली काँग्रेसका खम्मबहादुर खाती ३ हजार ९ सय ६९ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपाका टिकाराम जैशीले १ हजार ८ सय ५ मत प्राप्त गर्नुभएको थियो ।
निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ५३ र पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको मतभार १९ निर्धारण गरिएको थियो।
कुल २ सय २४ मतदाता रहेकोमा ४९ प्रदेश सभा सदस्य र १७१ पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष गरी २ सय २० जनाले मतदान गरेका थिए। चार जनाले भने मतदान गरेनन्।
मतदान नगर्नेमा नेपाली काँग्रेसका प्रदेश सभा सदस्य प्रकाश देउवा, राप्रपाका प्रदेश सभा सदस्य खेमा विष्ट, धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र जोशिपुर गाउँपालिकाकी उपाध्यक्ष रेखा कठरिया रहेका छन्।
महिला समूह र अन्य समूह गरी दुई पदका लागि चार जना उम्मेदवार प्रतिस्पर्धामा थिए। निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गठबन्धन रहेको थियो।




