दार्चुला । ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवस दार्चुलामा पनि विविध कार्यक्रमका साथ मनाइएको छ। हरेक वर्ष जनवरी २६ तारिखका दिन मनाइने यो दिवस यस वर्ष “सतर्कता र प्रतिबद्धतामार्फत समाजको संरक्षणमा भन्सार” भन्ने नाराका साथ सोमबार दार्चुला भन्सार कार्यालयको आयोजनामा जिल्ला सदरमुकाम खलंगामा सम्पन्न भएको हो।
दिवसको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गरेको आधारमा दार्चुला भन्सार कार्यालयमा कार्यरत दुई जना कर्मचारीलाई सम्मान गरिएको दार्चुला भन्सार कार्यालयका कार्यालय प्रमुख दिनेश धामीले जानकारी दिनुभयो। साथै, चालू आर्थिक वर्षमा सबैभन्दा बढी कर तिरेको योगदानको कदरस्वरूप जिओ मिनिरल रिजर्भ प्रा.लि.लाई पनि सम्मान गरिएको उहाँले बताउनुभयो।
कार्यक्रमका क्रममा प्रमुख जिल्ला अधिकारी अनिल पौडेलसमक्ष चालू आर्थिक वर्षको हालसम्मको भन्सार कार्यालयको संक्षिप्त प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो।
कार्यालय प्रमुख दिनेश धामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनिल पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४४ गण दार्चुलाका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) देवराज जोशी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डीएसपी गौरव महत, जिल्ला स्थित नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागका कार्यालय प्रमुख तथा प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि तथा व्यापारी–व्यवसायीहरूको उपस्थिति रहेको थियो।
यसैबीच, अन्तर्राष्ट्रिय भन्सार दिवसको पूर्वसन्ध्यामा दार्चुला भन्सार कार्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला सदरमुकाम खलंगास्थित अनाथालयका बालबालिकालाई शैक्षिक सामग्री तथा जिल्ला अस्पताल दार्चुलामा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको कार्यालय प्रमुख धामीले जानकारी दिनुभयो।




