दार्चुला । भारतका विभिन्न निकायहरुबाट सेवा निवृत भएका पेन्सनरहरु र भारतीय बैंकमा खाता संचालनमा रहेका नेपाली नागरिकहरुलाई लक्षित गरी कार्तिक ५ गते देखी ७ गते सम्म तीन दिनका लागी दार्चुला सदरमुकाम र जौलजिवीको सिमा पुल खोलिने भएको छ ।
जिल्ला सदरमुकाम खलंगा र मालिकार्जुन गाउँपालिकाको जौलजिविमा रहेको सिमा पुल तीन दिनका लागी खोलिने लागेको हो ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले सोमबार एक सुचना जारी गर्दै भारतीय बैंकमा रहेको पेन्सन खाता नविकरण गर्ने प्रयोजनार्थ नेपाल–भारत सीमानाका जौलजिवि, दत्तु र सदरमुकाम खलंगा स्थित सिमा पुल खोल्नका लागि उपजिल्लाधिकारी धारचुलालाई अनुरोध गरिएको तथा खलंगा र जौलजिवि सिमा पुल खोल्ने विषयमा सहमती भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
सीमापुल विहान ९ः०० बजे देखि दिउसो २ः०० बजे सम्म खुल्ला रहने सुचनामा उल्लेख गरिएको छ । सीमा नाका पेन्सनरहरुको पेन्सन बुझने र भारतीय बैंकमा खाता संचालनमा रहेका नेपाली नागरिकहरुलाई मात्रै आवज जावत गर्न दिईने जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले जानकारी दिनुभयो ।
भारतबाट मासिक पेन्सन सुविधा पाइरहेका पेन्सनरहरुले आफ्नो पेन्सनर कार्ड सहित परिचय खुल्ने परिचय पत्र सहित कोरोनाको सुरक्षात्मक तथा स्वास्थ्य सम्बन्धि मापदण्डहरुको पुर्ण पालना गर्न पनि सुचनामा उल्लेख छ ।





