दार्चुला । महाकाली करिडोर अन्तरगत दार्चुला–तिङ्कर सडकमा पर्ने दुई वटा मोटरेवल पुलहरुमा ठेकेदारको चरम लार्पवाही देखीएको छ । २०७२ सालदेखि निर्माणाधिन दुबै पुलमा चालू आर्थिक वर्षमा चौथो पटक थपिएको म्याद समेत सकिन लागेपनि निर्माण कार्य सम्पन्न भएको छैन् ।
जिल्ला सदरमुकामबाट उत्तर तिरको तिङ्कर सडक जोड्ने दुई वटा पुलहरु लास्कुखोला र निजाङखोला पुल निर्माणको लागि सम्झौता भएको पाँच वर्ष समय वितिसकेको दार्चुला तिङ्कर सडक आयोजनाले जनाएको छ । हालसम्म दार्चुला सदरमुकाम खलंगा नजिकैको लास्कुखोला पुलमा ६० प्रतिषत भौतिक प्रगति मात्रै भएको सडक आयोजनाका सूचना अधिकारी एबं ईन्जिनियर दिनेश रैखोलाले जानकारी दिनुभयो ।
राजेन्द्र, देवसिह, मालिकार्जुन जेभिले निर्माण गरिरहेको लास्कुखोला पुलमा चार करोड ४० लाख बजेट रहेको छ । विगतदेखि विभिन्न वाहाना बनाएर चार पटक म्याद थपिएको यो पुलमा निर्माण कार्य ठप्प रहेको सूचना अधिकारी रैखोलाले बताउनुभयो ।
श्रीबगडस्थित निजाङखोला पुलमा ९० प्रतिषत भौतिक प्रगति भएको छ । राजेन्द्र, मालिकार्जुन जेभीले निर्माण गरिरहेको यो पुलमा दुई करोड ४५ लाख बजेट रहेको छ । दुबै पुलमा चौथो पटक थपिएको म्याद अगामी मंसिर २० गते सकिने भएपनि लास्कुखोला पुलमा कार्य सम्पन्न हुने सम्भावना छैन् ।
राजेन्द्र निर्माण सेवाका सञ्चालक एबं डडेल्धुराको पर्शुराम नगरपालिकाका नगरप्रमुख भिम साउँदले निर्माणको जिम्मा पाएको दुबै पुल समयमै निर्माण सम्पन्न नहुदा दार्चुला–तिङ्कर सडकमा यातायातका साधनहरु सञ्चालन गर्न कठिनाई हुने गरेको यातायात व्यवसायी चक्र बहादुर बमले बताउनुभयो ।
२०७२ फागुन १५ गते सम्झौता भएको निजाङखोला पुल र २०७२ चैत १५ सम्झौता भएको लास्कुखोला पुलमा यसपछि म्याद थप्ने कुनै आधार नरहेको सडक आयोजनाले जनाएको छ ।
विगतदेखि विभिन्न कारण देखाएर म्याद थपका लागि विभागमा सिफारिस गरिएको भएपनि यसपछि म्याद थप्नु पर्ने कुनै आधार नरहेको प्राविधिकहरु बताउछन् । समयमै काम सम्पन्न गर्न नसकेको भन्दै निर्माण व्यवसायीबाट सम्झौता रकमको १० प्रतिषत हर्जाना समेत तिराइएको आयोजनाका सूचना अधिकारी रैखोलाले बताउनुभयो । १० प्रतिषत जरिवाना तिराउने बाहेक कडा कारवाही गर्न सकिने कानुनी व्यवस्था नभएकोले निर्माण व्यवसायीहरुले ठेक्काहरु अलपत्र छोड्ने गरेका छन् ।
ठेकेदारको चरम लापरवाही र कार्यालयको कमजोरीका कारण चार वर्षदेखि करिडोरमा पर्ने पक्की पुलहरु अलपत्र परेको स्थानीयको आरोप छ । पुल समयमै निर्माण सम्पन्न नहुदा पानीको सतह बढेको बेला खोला वारवार गर्न र यातायातका साधनहरु सञ्चालन गर्न समस्या हुने गरेको स्थानीयहरुले बताएका छन् ।




