दार्चुला । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबारदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ । निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आइतबारदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ । सोहीअनुसार यो कार्यक्रम अगाडि बढाउन लागिएको हो ।
नागरिकलाई मताधिकारको महत्त्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष कार्यक्रमअनुसार आजबाट १७ गते सम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकास जोशीले बताउनुभयो ।
मतदाता शिक्षा कार्यक्रमको लागि जिल्लाका ६१ वटै वडाहरुमा सोही संख्यामा मतदाता शिक्षा स्वंयम सेवक परिचालन गरिएको उहाँले बताउनुभयो । यस अघि मतदाता शिक्षा अनुगमन कर्ताको लागि जिल्ला निर्वाचन कार्यालय र स्वंयमसेवकले प्रतेक स्थानीय तहमा तालिम सञ्चालन गरेका थिए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा बढीभन्दा बढी मतदाताको सहभागिता र बदर मत नहोस भन्ने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा गरिन लागेको निर्वाचन आयोगले जनाएको छ । मतदाता शिक्षा कार्यक्रम १७ गते सम्म प्रत्येक वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने छ ।
मतदाता शिक्षा कार्यक्रममा खटिने मतदाता शिक्षा स्वयंसेवकहरुलाई आ–आफ्नो क्षेत्रमा सक्रियताका साथ खटिन निर्देशन दिईएको छ ।
सही तरीकाले मतदान गर्ने बिषयमा स्वयंसेवकहरुले मतदातालाई उनीहरुकै घरदैलोमा पुगेर जानकारी गराउने छन् ।




