दार्चुला । बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ७ को प्रशासनिक भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध भएपछि बहुप्रतीक्षित योजना कार्यान्वयनतर्फ अघि बढ्ने भएको छ। स्थानीय समाजसेवी कृत बहादुर धामीले भवन निर्माणका लागि आवश्यक जग्गा दान गरेपछि वडा कार्यालयलाई स्थायी संरचना निर्माण गर्ने बाटो खुलेको हो।
वडा अध्यक्ष प्रकाशमणी भट्टका अनुसार जग्गा पास सम्बन्धी सम्पूर्ण कानुनी प्रक्रिया सम्पन्न भइसकेको छ। अब गाउँपालिकासँग आवश्यक समन्वय गरी भवन निर्माणका बाँकी प्रक्रिया छिट्टै अघि बढाइने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।
स्थानीय कृत बहादुर धामीको यो महत्त्वपूर्ण सहयोगले स्थानीय तहको विकासमा सकारात्मक सन्देश दिएको भन्दै वडा कार्यालयले आभार व्यक्त गरेको छ। भवन निर्माण सम्पन्न भएपछि सेवा प्रवाह अझ प्रभावकारी, व्यवस्थित र सहज हुने अपेक्षा गरिएको छ। साथै, स्थानीय बासिन्दाले आफ्नै वडामै गुणस्तरीय सेवा पाउने विश्वास गरिएको छ। अब गाउँपालिकासंग समन्वय गरेर भवन निर्माणको काम अघि बढाउने उहाँले बताउनुभयो।
स्थायी भवन अभावका कारण हालसम्म सेवा सञ्चालनमा विभिन्न समस्या भोग्दै आएको वडा कार्यालयले अब भने नयाँ संरचना निर्माण गरेर दीर्घकालीन समाधान दिने विश्वास लिइएको छ।





प्रतिक्रिया