दार्चुला । दार्चुलामा सुदूरपश्चिम प्रदेश स्तरीय ‘प्रज्ञा नारी काव्य संगोष्ठी’ सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान को आयोजनामा शनिबार जिल्ला सदरमुकाम खलंगास्थित दार्चुला बहुमुखी क्याम्पसमा एकदिने कार्यक्रम आयोजना गरिएको कार्यक्रम सञ्चालक जिज्ञाशु खत्रीले जानकारी दिनुभयो ।
संगोष्ठीमा सुदूरपश्चिम प्रदेशका नारी स्रष्टाहरूलाई सम्मान गरिनुका साथै कार्यपत्र प्रस्तुत र नारी कविहरूद्वारा काव्य वाचन गरिएको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा, प्राज्ञ बाबा बस्नेतको विशिष्ट आतिथ्यता रहेको खत्रीले बताउनुभयो । त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख महादेव बडू, प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, दार्चुला बहुमुखी क्याम्पसका उपप्राध्यापकहरु, पत्रकार, कलाकार लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सह–आयोजक मानसखण्ड गुरुकुल रहेको थियो भने महाकाली नगरपालिका, अपिहिमाल गाउँपालिका, डिलासैनी गाउँपालिका तथा राष्ट्रियता संरक्षण अभियान को सहयोग रहेको जनाइएको छ ।




