दार्चुला । भारतीय पक्षले प्रशासनले तोकेको समयमै सीमापुल खोल्न नमान्दा पेन्सन बुझ्न भारत पुगेका नेपाली पेन्सनरहरु भारतमै अलपत्र परेका छन ।
भारतीय पेन्सनरहरुलाई लक्षित गरि बुधबार विहान ९ बजे देखि दिउँसो २ बजे सम्म पुल खुल्ने भनिए पनि जौलजिवि पुल भारतीय पक्षले विभिन्न कारण देखाउदै खोल्न नमान्दा भारत गएका नेपाली पेन्सनर तथा बैंकिङ् कारोबार गर्न भारत गएका नेपालीहरु भारतमै अलपत्र परेका हुन् ।
दुबै देशका स्थानीय प्रशासनहरुबीच विहान ९ बजे देखि दिउँसो २ बजे सम्म सीमापुल खोल्ने सहमती भए पनि भारतीय पक्षले विभिन्न कारण देखाउदै विहान साढे ११ बजे पुल खोलेको स्थानीय पेन्सनर राम सिंह ऐरले बताउनुभयो ।
भारतीय पक्षले चिकित्सक नआएको भन्दै सीमापुल खोल्न नमान्दा पेन्सन बुझ्न र बैंकिङ् कारोबारको लागी भारत गएका नेपालीहरु भारतमै अलपत्र परेका हुन् ।
भारतीय पक्षले विहान समयमै पुल नखोलेको र भारतमा समयमै काम नहुँदा अधिकांस नेपालीहरु भारतमै अलपत्र परेको स्थानीय पेन्सनर ऐरले बताउनुभयो । विहान साढे ११ बजे खोलिएका सीमा पुल भारतीय पक्षले दिउँसो २ बजे नै बन्द गरेको नेपाली सुरक्षकर्मीहरु बताएका छन् ।
भारतीय पक्षले माथिको आदेश भन्दै विहान समयमै सीमापुल खोल्न नमानेको र दिउँसो २ बजे नै सीमापुल बन्द गरेको थियो । जौलजिवि सीमापुलबाट भारत गएका पेन्सनर र बैंक खातावालाहरु भारतमै अलपत्र परेको र भारतीय पक्षले माथिको आदेश भन्दै पुल खोल्न नमानेको हो ।
तर खलंगाको सीमा पुल भने विहान ९ बजे नै खुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी भास्कर चन्दले जानकारी दिनुभयो ।
भारतीय पेन्सनरहरुलाई लक्षित गरि नेपाल भारत जोड्ने सीमा पुल खोलिएका थिए । पुल खुलेको आज पहिलो दिन दुई सय २८ जना भारतीय पेन्सनरहरु र बैंकिङ्क कारोबारका लागी नेपालीहरु भारत गएको प्रहरी निरीक्षक चन्दले बताउनुभयो ।
खलंगा नाकाबाट एक सय ७१ जना र जौलजिवि नाकाबाट ५७ जना भारतीय पेन्सनर र बैंकिङ् कारोबारका लागी नेपालीहरु भारत गएका छन् ।
त्यस्तै भारतमा अलपत्र परेका एक सय ३१ जना नेपालीहरु नेपाल फर्किएका छन् । खलंगा नाकाबाट ९६ जना र जौलजिवी नाकाबाट ३५ जना नेपालीहरु नेपाल फर्किएका हुन् ।
कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै गत चैत ११ गतेबाट बन्द भएका सीमा पुलहरु भारतीय पेन्सनर रहेका नेपाली नागरिकहरुलाई भारतबाट पेन्सन बुझ्न र भारतमा बैंक खाता रहेकाहरुलाई कारोबार गर्नका लागि दोस्रो पटक खुलेका हुन् ।
सीमा नाका अगामी ७ गते सम्म खुल्ला रहने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।




