दार्चुला । नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला-टिंकर सडकमा बजेट रकमान्तर गर्ने फाइल स्वीकृत भएको छ। टिंकर सडकमा चालु आर्थिक वर्षमा विनियोजन भएको ६ करोड ३१ लाख बजेटमध्ये भौतिक निर्माणतर्फ १ करोड मात्रै बजेट रहेकोमा भवन निर्माण र मेसिन खरिदको बजेट रकमान्तर गरेर भौतिक निर्माणमा चार करोड पुर्याइएको हो।
बजेट अभावमा सडक निर्माणको काम रोकिएपछि नेपाली सेनाले बजेट रकमान्तरका लागि अनुरोध गरेको थियो। चैत १७ गते बजेट रकमान्तर भएसंगै नेपाली सेनालाई काम गर्न बाटो खुलेको छ। नेपाल सरकारले बजेट रकमान्तर गरेसंगै टिंकर सडकको दुम्लिङ क्षेत्रमा काम गर्ने तयारी भइरहेको निर्माण कार्यमा खटिएको नेपाली सेनाका कर्नेल राजेश कटुवालले बताउनुभयो। सेनाले कडा चट्टानी भूभागमा जोखिमपूर्ण ढंगले काम गरेर टिंकर सडक निर्माण गरिरहेको छ। चालु आर्थिक वर्षका लागि सडक निर्माणमा रकमान्तर गरिएको बजेटले एक डेढ महिनामै दुम्लिङसम्म गाडी पुर्याउने लक्ष्यका साथ केही दिनमै काम सुरू गर्ने सेनाले जनाएको छ।
नेपाल सरकार अर्थ मन्त्रालयसंग र रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री बालेन शाहसंगको भेटमा आफुले टिंकर सडकमा बजेट रकमान्तरका लागि अनुरोध गरेको दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्नाले बताउनुभयो। दुम्लिङसम्म छिट्टै यातायात सञ्चालन गर्ने गरी काम गर्न नेपाली सेनालाई अनुरोध गरिएको उहाँको भनाइ छ। दुम्लिङका स्थानीयले तत्काल गाउँसम्म सडक निर्माण गरिदिन माग गर्दै आएका छन् ।
अहिले बजेट रकमान्तर भएकोमा खुसी लागेको बताउदै स्थानीय जनक धामीले बजेट रकमान्तरका लागि पहल गर्ने जिल्लाबाट निर्वाचित सांसद र नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्नुभएको छ। आगामी आर्थिक वर्षमा टिंकर सडकमा प्रयाप्त बजेट विनियोजन गरिदिनुपर्ने व्याँसका स्थानीयबासीन्दाको माग रहेको छ। सामरिक महत्त्वको टिंकरसम्म सडक छिटो पुर्याउन प्राथमिकताका साथ निर्माण गरिनुपर्नेमा सरोकारवालाहरूको माग छ।




