सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ३ सय नाघेको छ । विहिवार प्रदेशका ६ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ७५ जना थपिएसँगै संक्रमितको संख्या ९ हजार ३ सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तर प्रदेशको सामाजिक विकास मन्त्रालयले भने संक्रमितको संख्या ९ हजार ४८ पुगेको जनाएको छ । सुदूरपश्चिम स्थायी घर भई प्रदेश बाहिरका प्रयोगशालामा परीक्षण गरी संक्रमण पुष्टि भएकाहरुको संख्या समावेश नगर्दा कम देखिएको मन्त्रालयले जनाएको छ ।
कैलालीमा सबैभन्दा धेरै ३ हजार ४ सय ४८ जना र डोटीमा एक हजार २ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ । अछामका १ हजार १ सय ५० जना, कञ्चनपुरका ९ सय ९७, बझाङका ६ सय १९, बैतडीका ४ सय ७७, बाजुराका ४ सय ५९, डडेल्धुराका ३ सय ९३, दार्चुलाका २ सय ५६ जनामा संक्रमण पुष्टि भएको बताइएको छ ।
स्वास्थ्य कार्यालय दार्चुलाले भने जिल्ला बाहिर संक्रमण पुष्टि भएकाहरुको संख्या समावेस नगरेर जिल्ला भित्र मात्रै २५१ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । दार्चुलाको महाकाली नगरपालिकामा सबैभन्दा बढी संक्रमण फैलिएको छ । कारागार, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्वास्थ्यकर्मी, कर्मचारी र स्थानीय गरी नगरपालिकामा १६४ जना संक्रमित भएर ९२ जना संक्रिय संक्रमित रहेका छन् ।
सुदूरपश्चिममा संक्रमण पुष्टि भएका मध्ये ७ हजार ४ सय ८३ जनाले कोरोना जितेका छन् भने ३० जनाको मृत्यु भएको छ ।




