दार्चुला । मेला तथा जात्रा राती लगाउदा विभिन्न बिकृति र असुरक्षा बढेको भन्दै दिनमा लगाउने निर्णय भएको छ ।
लेकम गाउँपालिका वडा नम्बर ५ मैखोलीमा रहेको ऐडिबाग मन्दिरमा हरेक वर्ष बडादशैँको अवसरमा रातभरी जात्रा लाग्ने गरेको थियो । यो वर्ष देखि दशैँ जात्रा दिनमा लगाउने र कोरोना भाईरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गरेर स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्दै भक्तजनहरुले पुजाआजा मात्रै गर्ने निर्णय गरिएको लेकम गाउँपालिका अध्यक्ष परमानन्द जोशीले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष जोशीको उपस्थितिमा भएको छलफलमा मन्दिर व्यवस्थापन समितिले जात्रा दिनमा लगाउने निर्णय गरेको हो । राती जात्रा लगाउदा अध्यारोका कारण लड्ने वा चोटपटक लाग्ने जोखिम हुने, मदिरा सेवन गरेर होहल्ला तथा झैझगडा हुने, गाउँ बाहिरका मान्छेहरु समेत उपस्थित भएर जुवातास खेल्ने, खेलाउने र महिला तथा बालबालिकाहरुमाथि दुव्र्यवहारका घटनाहरु हुनसक्ने लगायत विकृति र भौतिक असुरक्षालाई मध्यनजर गर्दै जात्रा दिनमा लगाउने र यो वर्ष कोरोनाका कारण जात्रामा हुने पुजाआजा बाहेकका कार्यक्रम बन्द गर्ने निर्णय भएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष राधापल्लव जोशीले बताउनुभयो ।
जात्रामा डेउडा लगायत खेलहरु खेल्ने, दामाहा लगायत बाजागाजा बजाउने, आफन्त, ईष्टमित्र भेला भएर सुखदुःखका कुराकानी गर्ने, व्यापार व्यवसाय गर्ने अर्थात धेरै मानिस भेला भएर रमाइलो गर्ने गरिएकोमा यो वर्ष पुजाआजा बाहेकका कुनै पनि कार्यक्रम नगर्ने, नगराउने निर्णय भएको अध्यक्ष जोशीले बताउनुभयो । मैखोलीमा समेत एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको कारणले समुदायमा संक्रमण फैलिन नदिन मन्दिरमा आउने सम्पूर्ण भक्तजनहरुले अनिवार्य मास्कको प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, हात धुनका लागि प्रतेकले साथमा साबुन बोक्ने, मन्दिरमा दामाहा नल्याउने र नबजाउने, भक्तजन बाहेकका मानिसहरु मन्दिर नजाने र परिवारमा कोरोनाको जोखिम र मन्दिरको निर्णय बारे छलफल गरेर विशेष सावधानि अपनाउने लगायतका निर्णय भएका छन् ।
कोरोना बाट आफु बच्न र अरुलाई पनि बचाउन मास्कको अनिवार्य प्रयोग, सामाजिक दुरी र सरसफाईमा विशेष ध्यान दिन मन्दिर व्यवस्थापन समितिले सबैलाई अनुरोध गरेको स्थानीय लोकमणी जोशीले जानकारी दिनुभयो ।
जात्रा दिनमा लगाउने र कोरोनाको जोखिमलाई मध्यनजर गर्दै भिडभाड नगर्ने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पुजाआजा गर्ने निर्णय वर्तमान समयमा निकै महत्तपुर्ण र स्वागतयोग्य भएकोले यसको सबैले परिपालना गर्नुपर्ने मैखोलीका स्थानीय बाशुदेब जोशीको भनाई छ ।
जात्रा राती लगाउदा अनेक विकृति र असुरक्षा बढेकोले जिल्लाका अरु मन्दिरहरुमा पनि राती लाग्ने जात्रा बन्द गरेर दिउँसोको समयमा लगाउनु उपयुक्त हुने जोशीले बताउनुभयो । ऐडिबाग मन्दिरबाट राम्रो कामको शुरुवात भएकोले अरु ठाउँमा समेत यसको सिको हुनुपर्ने बुद्धिजिविहरुले बताएका छन् ।




