दार्चुला । महाकाली नगरपालिकाले डम्पिङ साइटबाट संकलित फोहोर सिधै महाकाली नदीमा विसर्जन गरेको भिडियो सार्वजनिक भएपछि “पवित्र महाकाली स्वच्छता अभियान”ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नगरपालिकाको उक्त कार्यप्रति आपत्ति जनाउँदै अभियानले नदीमा फोहोर विसर्जन गर्ने कार्य तत्काल रोक्न माग गरेको छ ।
प्राकृतिक जलस्रोतको संरक्षण र वातावरण स्वच्छ राख्नु स्थानीय सरकारको पहिलो दायित्व भए पनि जिम्मेवार निकायबाटै यस्तो गैरजिम्मेवारपूर्ण कार्य भइरहेको पवित्र महाकाली स्वच्छता अभियानका उ-संयोजक महेश भट्टले बताउनुभयो ।
यसबाट नदीको जैविक विविधता र जलचर प्राणीहरूको अस्तित्वमा संकट पैदा हुनुका साथै धार्मिक तथा सांस्कृतिक आस्थामा आँच पुग्ने उल्लेख उहाँले बताउनुभयो ।
त्यस्तै, नदी किनारमा बसोबास गर्ने नागरिकहरूको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पर्ने भन्दै विज्ञप्तीमार्फत चिन्ता व्यक्त गरिएको छ । यस्ता गतिविधि प्रचलित वातावरण संरक्षण ऐन विपरीत रहेको पनि विज्ञप्तिमा उल्लेख छ।
अभियानले महाकाली नगरपालिका तथा सम्बन्धित निकायसँग नदीमा फोहोर फाल्ने कार्य तत्काल बन्द गर्न, विसर्जित फोहोरको उचित व्यवस्थापन गर्दै नदी किनार सरसफाइ गर्न र भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिने स्पष्ट प्रतिबद्धता तथा दिगो योजना सार्वजनिक गर्न माग गरेको छ। यस्ता कार्य जो कोहीबाट पनि पुनः दोहोरिएमा वा बेवास्ता गरिएमा सम्बन्धित निकायलाई कानुनी कठघरामा उभ्याउने र आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइने चेतावनी अभियानले दिएको छ।




