दार्चुला । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आज ओमानसँग खेल्दै छ । यी दुईले लिग–२ अन्तर्गत नेपाल, ओमान र युनाइटेड अरब इमिरेट्स (यूएई) सम्मिलित त्रिदेशीय शृंखलाको अन्तिम खेल खेल्न लागेका हुन् । खेलमा यी दुवै जितसहित श्रृंखला टुंग्याउने लक्ष्यमा हुनेछन् ।
तालिकाको सातौँ स्थानमा रहेको नेपालले प्रतियोगितामा १६ अंक जोडेको छ । नेपालले २३ खेल खेल्दा सात खेलमा जित र १४ खेलमा हार व्यहोरेको छ । दुई खेल भने रद्द भएको थियो ।
यता, ओमान भने १५औँ जितको खोजीमा छ । ओमान ३१ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । टोलीले २७ खेल खेल्दा १४ जित र १० हार व्यहोरेको छ । टोलीको तीन खेल भने रद्द भएको थियो ।
ओमान र नेपालको यो दोस्रो खेल हो । यसअघि श्रृंखलाअन्तर्गत भएको पहिलो खेलमा ओमानले घरेलु टोलीलाई डीएलएस प्रणालीका आधारमा १०२ रनले पराजित गरेको थियो । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा बिहान ९ः३० बजे सुरु हुनेछ ।




